काठमाडौं – सरकारको चार महिनाको लकडाउन र एक महिनाको निषेधाज्ञालाई पूरै असफल सावित गर्दै नेपालमा तीव्र गतिमा कोरोना फैलिँदै गएको छ । पछिल्लो एक महिनायता संघीय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रका समुदायस्तरमा पुगेको कोरोनाले भयावह रुप लिन थालेको हो ।
नेपालमा मृतक संख्या विश्वका अन्य देशको तुलनामा कम भए पनि संक्रमितको संख्या भने आकासिँदै गएको छ । एक सातायता नेपालमा कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । देशभर दैनिक २ हजार भन्दा धेरै संक्रमित भेटिँदा काठमाडौंका तीन जिल्लामै दैनिक १५ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन् ।
चीनमा भन्दा धेरै संक्रमित
कोरोना संक्रमितको आँकडाको कुरा गर्ने हो भने नेपालले अब चीनलाई पनि उछिनेको छ । चीनको वुहानबाट २०१९ डिसेम्बरमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए ।
त्यसपछि नेपालमा माघ १० गते पहिलो संक्रमित भेटिएका थिए । चीनको वुहानमा कोरोनाले महामारीको रुप लिइरहँदा नेपालमा अवस्था सामान्य थियो । तर अहिले नेपालमा कोरोनाले महामारीको रुप लिइरहँदा चीनको अवस्था भने सामान्य भइसकेको छ । चीनले वुहान सहरमा करिब ७७ दिन लामो लकडाउन अवधिमा कोरोना नियन्त्रणमा लिएर सबै कुरा खुला गरिसकेको छ ।
नेपालमा भने आइतबार २२ सय ५३ जना संक्रमित थपिएसँगै नेपालले संक्रमितको संख्यामा चीनलाई पनि उछिनेको हो । नेपालमा आइतबार २२ सय ५३ संक्रमितलाई जम्मा संक्रमितसँग जोड्दा ८६ हजार ८ सय २३ हुन आउँछ । उता चीनभर कोरोना संक्रमितको संख्या ८५ हजार ४ सय ५० रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
तर नेपालमा भन्दा चीनमा कोरोनाबाट धेरैले ज्यान गुमाएका थिए । चीनमा कोरोनाबाट ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका थि ए। नेपालमा आइतबार थप ७ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । नेपालमा २२ सय ५३ जना संक्रमित थपिँदा चीनमा आइतवार १६ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा अहिलेसम्म ८० हजार ६ सय २१ जना निको भइसकेका छन् । अहिले त्यहाँ १९५ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा अहिलेको तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । चीनले करिब ३ महिनामै कोरोना नियन्त्रणमा लिएपछि अहिले त्यसविरुद्धको भ्याक्सिन बनाइरहेको छ । तेस्रो चरणमा रहेको भ्याक्सिन अहिले त्यहाँस्थित जनमुक्ति सेनामा परीक्षण भइरहेको छ ।