काठमाडौं – कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । असार १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हो ।
थापाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् ।
असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
— Gagan Thapa (@thapagk) October 3, 2020
त्यस्तै थापाले यसबीचमा आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् ।
यसअघि कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।
१५ गते कांग्रेस कार्यालयमा २ सय ४० जनाको परीक्षण गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए । परीक्षण गरिएकामध्ये २०–२२ जनाको नतिजा आउन बाँकी रहेकाले सबैको नतिजा आएपछि आइतबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।