आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – शनिबार दिउँसो सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बोलाइएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शनिबार दिउँसो ४ बजेका लागि सचिवालय बैठक बालुवाटारमा बोलाएका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान भएको एक महिना नपुग्दै राजनीतिक नियुक्तिले नेकपामा फेरि विवाद बल्झिएको छ । राजनीतिक नियुक्तिको विषयमा विवाद बल्झिएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले सचिवालयमा छलफल गर्न लागेका हुन् ।

पार्टीभित्र छलफल नै नगरी मुख्यसचिवसहित तीन देशमा राजदूत नियुक्तिको निर्णय भएको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता असन्तुष्ट छन् । पार्टी स्थायी कमिटी निर्णय विपरित प्रधानमन्त्री ओलीले सचिवालयमा छलफल नगरी मुख्यसचिवको नियुक्ति र राजदूत सिफारिस गरेपछि नेताहरु असन्तुष्ट भएका हुन् ।

महत्वपूर्ण राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गरेको नेताहरुको आरोप छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले परराष्ट्रसचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो । त्यसैगरी पूर्वअर्थमन्त्री एवम् १५ दिनअघि मात्र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको थियो ।

सरकारको यो निर्णय सार्वजनिक भए लगत्तै ओली र प्रचण्डबीच दैनिक हुँदै आएका छलफल नै भाँडिएका छन् । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको एकलौटी निर्णयविरुद्ध शीर्ष नेताले धारणा राख्ने तयारी गरेका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा यात्रालाई रोक्न सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी नेताहरुले छलफल चलाइरहेका छन् ।

गत बुधबार सर्वोच्चको संवैधानिक इजलासमा बहस सुरु भएको वामदेव मुद्दाको बहस लम्बिएको छ । दोस्रो दिन शुक्रबारसमेत बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको वामदेवको मुद्दाको पेशी फेरि बुधबारलाई सरेको छ ।

तपाईको प्रतिक्रिया