टोकियो – विश्वको दोस्रो ठूलो फेशन रिटेलर स्विडेनको ‘एच एण्ड एम’ले विभिन्न देशमा रहेका २ सय ५० भौतिक स्टोरहरु स्थायी रुपमा बन्द गर्ने भएकाे छ।
एच एन्ड एमका अनुसार कोरोना महामारीका कारण ग्राहकहरु बढी अनलाइन बजारमा आकर्षित भएपछि भौतिक स्टोरहरु बन्द गर्न लागिएको हो। ती भौतिक स्टोरहरु अर्को वर्षदेखि बन्द गर्ने कम्पनीको योजना छ।
यसको विश्वभर ५ हजार बढी भौतिक स्टोर छन्। कुन र कहाँको स्टोरहरु बन्द हुने निश्चित भइसकेको छैन।
एच एण्ड एमले बिबिसीलाई भनेको छ, ‘अहिले नै पूर्ण विवरण दिन गार्हो छ। देश र बजारअनुसार भौतिक स्टोर कटौती गरिन्छ। अहिले २ सय ५० स्टोर बन्द गर्ने निर्णय लिइएको छ।’
‘कोरोना भाइरसका कारण ‘एच एण्ड एम’को व्यापार–व्यवसायमा गिरावट देखियो। सेप्टेम्बरदेखि यसले पुरानो गति समाउँदैछ। तर सन् २०१९ को सोही महिनाको तुलनामा यो वर्षको व्यापार ५ प्रतिशतले घटेको छ’, कम्पनीले भनेको छ।