काठमाडौँ- प्रहरीले काठमाडौंको कलंकीस्थित एक घरमा नयाँ डेट राख्दै गर्दा ठूलो परिमाणमा म्याद गुज्रिएको ‘स्निकर्स’ चकलेट बरामद गरेको छ।
महानगरीय अपराध महाशाखाका एक अधिकारीका अनुसार सुराकीको आधारमा पुगेको प्रहरी टोलीले घरभित्रै प्रिन्टिङ मेसिन राखेर ती स्निकर्स चकलेटमा नयाँ डेट राख्न लागेको भेटाएको हो ।
घरको एउटा कोठामा सकिएको डेट मेट्ने मेसिन राखिएको छ भने अर्को कोठामा नयाँ डेट राख्ने मेसिन राखिएको छ।
महानगरीय अपराध महाशाखा र बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले कलंकीको विष्णुलक्ष्मी इन्टरपाईजेज र बाफलको आयन डिस्ट्रब्यूटर्समा सिल गरेको छ ।
३ वटा गोदाममा करोडौं मूल्य बराबरका क्याटबरी, ओरियो बिस्कुट, प्रिङ्गल्स, सावुन, सेनिटाईजर, बर्नभिटा र युनिलिभरका कस्मेटिक सामान ‘रि–लेबलिङ’ गरेको अवस्थामा प्रहरी र बाणिज्य विभागले सिल गरेको हो ।
मिति गुज्रेका स्निकर्स चकलेट, बिस्कुट र ट्याङको पुरानो लेवल मेटेर नयाँ लेवल प्रिन्ट गर्ने समूहका पाँच जनालाई पक्राउ गरिएको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए । पक्राउ पर्नेमा आयन डिस्ट्रब्यूटर्सकी सञ्चालिका पुष्पादेवी अग्रवाल, रौनक बोत्रा, रौतहटका पप्पु शर्मा, महोत्तरीका श्यामप्रसाद सिंह र रौतहटकै मुन्ना ठाकूर छन् ।
रौनक बोत्रा सहितको समूहले २ वर्षदेखि सो काम गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।