काठमाडौं – कोरोना सक्रिय संक्रमितको संख्यामध्ये काठमाडौं उपत्यकामा मात्र ५५ प्रतिशत छन् । यसमध्ये काठमाडौं महानगरका ६ वटा वडामा कोरोना संक्रमण धेरै पाइएको छ ।
काठमाडौं महानगरपालिकाको १३ असोजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै वडा-१५ मा छ । यो वडामा १२ असोजमा मात्र ३१ नयाँ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८१२ पुगेको छ । वडा १५ मा स्वम्यभुलगायत क्षेत्र पर्छन् ।
महानगरका अनुसार १२ असोजमा बल्खु क्षेत्र पर्ने वडा-१४ मा २७ नयाँ कोरोना संक्रमित भेटिएपछि त्यहाँ कुल कोरोना संक्रमितको संख्या ४७१ पुगेको छ । यस्तै, धुम्बाराहि क्षेत्र पर्ने वडा ४ मा सोमबार मात्र २५ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २७० पुगेको छ ।
गौशाला क्षेत्र पर्ने वडा-९ मा २१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २८० र बागबजार क्षेत्र पर्ने वडा-२८ मा १६ संक्रमित थपिएपछि कोरोनाका कुल संक्रमितको संख्या ३९५ पुगेको छ । काठमाडौं महानगरको वडा-२९ मा सोमबार १२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २५३ पुगेको छ ।