आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – कोरोना महामारीले पर्यटनमा क्षेत्रमा ६० अर्बको घाटा भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् । भट्टराईका अनुसार महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरूले नेपालको पर्यटन क्षेत्रमा रु.६० अर्बभन्दा बढीको घाटा व्यहोर्नु परेकाले यसको पुनरुत्थान चुनौतिपूर्ण भएको छ ।

नेपाल उद्योग परिसंघले आइतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारु गर्ने सम्बन्धी भर्चुअल अन्तरक्रियामा मन्त्री भट्टराईले कार्यक्रममा सावधानीपूर्वक पर्यटकीय गतिविधि खुला गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको समेत बताए । मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुनस्थापनाका प्याकेज कार्यान्वायनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्यांकमा मन्त्रालयको तर्फबाट निरन्तर जानकारी लिने काम भइरहेको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले कोभिडसँग डराएर भन्दापनि सावधानी अपनाएर अघि बढ्नु पर्ने अवस्था आएकाले पर्यटन व्यवसाय तथा नागरिक उड्डयन सेवा सुचारु गर्नुको विकल्प नभएको बताए । परिसंघका राष्ट्रिय परिषद् सदस्य तथा श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले पर्यटन क्षेत्रका विज्ञ तथा संघ संस्थाका अध्यक्षहरूले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित गरिनु पर्ने र  उडानहरूलाई अकस्मात रद्द गर्ने निर्णय लिन नहुने बताए । उनले हवाई इन्धनको शूल्क कम गरेर उड्डयनलाई राहत दिन आग्रह गरे ।

पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सुरक्षित पर्यटनका लागि सबै पक्षमा विश्वास दिलाउन सहकार्य गरिनुपर्ने बताए । यस्तै पदयात्रा व्यवसायी खुमबहादुर सुवेदीले पर्यटकलाई तीन मात्रै होटल क्वारेन्टिमा बसेर निस्कन पाउने व्यवस्था गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया