आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

राम-रमिता र चाडपर्वमा रौसिने नेपालीहरुको पुरानै प्रचलन हो । साउन महिना लागेदेखि नेपाली चाडपर्वहरुको लामबन्दी सुरु हुन्छ । नेपाली समाजमा हिन्दु, बौद्ध, किराँत, मुस्लिमलगायत सबै धर्मावलम्बीहरुले विभिन्न तिथिमितिमा आ-आफ्ना चाडपर्व हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । कला र संस्कृतिको धनी मानिने हाम्रो देश नेपालमा अनेकता भित्रको एकता, अनुपम विशेषता मानिन्छ । राजधानी काठमाडौं खाल्डोमा मात्रै यहाँको जनसंख्या भन्दा देवी-देवता धेरै र घरभन्दा मठ-मन्दिर धेरै रहेको भनाई प्रचलनमा छ ।

नेपालमा बसोबास गर्ने झण्डै सवा सयभन्दा बढी जातजाति र भाषाभाषीको आ-आफ्ना धर्म, कला र संस्कृतिप्रति अगाढ आस्था रहेको कारण यहाँका चाडपर्वहरुको महत्व विशेष प्रकारको रहने गरेको पाईन्छ । चाडपर्वकै अवसरमा आर्थिक गतिविधि पनि तिब्र चलायमान हुने हुँदा गाउँदेखि सहरसम्मको अर्थतन्त्रलाई चाडपर्वहरुले पुनर्ताजगी प्रदान गरेका हुन्छन् ।

तर यसपाली परिस्थिति अत्यन्त भिन्न छ । कोरोना संक्रमणको विश्वब्यापी महामारीले देशदुनियाँलाई हायलकायल बनाएको छ । यो परिस्थिति थप लम्बिने प्रष्ट छ । विश्व इतिहासमा यस्ता महामारीहरु अन्त्य हुन वा पूरै नियन्त्रणमा आउन २, ३ वर्ष लाग्ने गरेको उदाहरण छन् । यस्तो परिवेशमा एकपछि अर्को चाडपर्वहरु आउँदैछन् । ती चाडपर्वहरु के कसरी मनाउने भन्ने बारेमा सचेत नागरिक शिक्षाको आवश्यकता देखिन्छ । हालैमात्र बिदा भएर गएको तीज पर्वको परिदृश्य हेर्दा स्वदेश वा विदेशमा रहेका नेपालीहरुलाई महामारीको संत्रासभन्दा चाडपर्वको रमाइलो नै प्यारो लागेको प्रतीत हुन्छ । कोरोना रोकथामको लागि भन्दै सामूहिक जमघट, भेला, महोत्सव, मेला, जात्रालगायतका गतिविधी नगर्न सरकारले निर्देशन जारी गरिसकेको छ । यसलाई हरेक नागरिक जिम्मेवार भएर पालना गर्न आवश्यक छ । त्यसो हुँदा अब चाडपर्व मनाउने तरिकामा पनि परिवर्तन गरिनुपर्दछ । बिश्वब्यापीरुपमा सिर्जित असामान्य अवस्थाका कारण घरपरिवारको पुनर्मिलन यसपटक सहज छैन । तसर्थ सूचना र प्रविधिको क्षेत्रमा उपलब्ध सुबिधालाई भरपुर उपयोग गर्दै अब ‘भर्च्युअल’ रुपमा चाडपर्व मनाउनुको विकल्प छैन । हाम्रो समाजको कुनै एक सदस्यको सानो गल्तीले समाज र देशलाई नै हानी पुग्ने हुँदा हामी सबै सचेत हुनु जरुरी छ । जिन्दगी बाँच्यो भने आउँदा वर्षहरुका चाडपर्व हर्षोल्लासका साथ मनाउन सक्छौं । घरभित्रै रहेर स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्दै सानो समुहमा पनि पर्वहरु मनाउन सकिन्छ । बाध्यतात्मक विषम परिस्थितिलाई आत्माबोध गर्दै सदाकोझैं यसवर्षका चाडपर्वहरुमा तामझाम गर्न नहुने सन्देश समाजका हरेक जिम्मेवार पंत्तिले अहिलेदेखि नै सर्बसाधारण समक्ष पुर्‍याउन जरुरी छ ।

महामारीका बीच चाडपर्वहरुको उचित ब्यवस्थापन अहिलेको चुनौती हो । यस्तो बेलामा समाजका हरेक सचेत नागरिक अचेत नभईदिने हो भने नियन्त्रण नै हुन नसकेपनि फैलनबाट रोक्न अवश्य सकिन्छ । यो बिषय पेचिलो ढंगले बहसकारुपमा सतहमा आउन सकेको छैन । राज्यले नागरिक शिक्षा दिलाउन सकेको छैन । जन-जनको मन-मनमा गुल्जार हुने गरी अभियान चलाउन सकिएको छैन । खेलाँची र असावधानीमा गरिने आजको क्षणिक रमाईलो जीवनकै अन्तिम नबन्ला भन्न सकिदैन । त्यसैले स्वदेश-विदेश जो जहाँ जसरी रहे-बसेको भएता पनि अधिकतम उच्च सतर्कता अपनाई यसपालीका आसन्न चार्डपर्वहरु विवेकपूर्ण ढंगले मनाउने योजना अहिलेदेखि नै बनाउनु पर्दछ । नेपालीहरुको ठूलो चाड दशैं नजिकिदैं छ, पर्वहरुले रोमाञ्चित तुल्याउने नेपाली मनहरुलाई महामारीको संवेदनशीलतासंग खेलबाड गर्न नहुने अकाट्य बिषय बेलैमा आत्मबोध हुन सकोस् । सुन्दर जिन्दगानी कै उच्च जोखिम मोलेर रौसिने र हौसिने बेला पक्कै हैन यो ।***

तपाईको प्रतिक्रिया