Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024
                           युवाहरूले सामजिक दूरीको नियम पालना नगरेको अधिकारीहरूको आरोप छ

काठमाडौं – ‘तपाईँ बीसको उमेर भएकै कारण अभेद्य हुनुहुन्न,’ सामाजिक दूरीको नियमलाई उल्लङ्घन गरेको तस्बिर सामाजिक सञ्जालमा राख्ने साथीहरूलाई एमी सिर्सल चेतावनी दिन्छन् ।

बाइस वर्षकी उनले आफ्नै शरीरमा कोरोनाभाइरसको कठोर प्रभावहरू महसुस गरेकी छन् र उनी अरू युवाहरूलाई नियम पालना गरेर भाइरसबाट जोगिन सुझाव दिन्छिन् । हालै विश्वविद्यालयबाट उत्तीर्ण भएकी उनलाई मार्चमा पोर्चुगलको भ्रमणका क्रममा सङ्क्रमण भएपछि बेहोश हुने गरी ज्वरो आयो ।

निरन्तर वान्ता हुने र निद्रा नलाग्ने समस्या देखिएपछि एमी ज्यादै कमजोर भइन् र उनको शरिरमा पानीको पनि अभाव भयो । अस्पतालमा भर्ना गरिएपछि उनी एक्लै शैय्यामा कामेर बस्थिन् वा पसिनाले निथ्रुक्कै भिझेकी हुन्थिन् ।

‘त्यो मेरो र परिवार अनि साथीभाइका लागि एकदमै डरलाग्दो र अप्ठेरो समय थियो,’ अस्पतालको बेडबाट १२ औँ दिनमा गरेको भाइरल ट्वीट सम्झँदै उनले बीबीसीसँग भनिन् । उक्त डरलाग्दो अनुभवपछि एमीले आफूजस्ता युवाहरूलाई स्वस्थ्य रहे पनि कोरोनाभाइरसको जोखिमलाई कम नआँक्न बताइरहेकी छन् ।

                               एमी कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएकी हुन्

तर उनका अनुभवमा धेरैले त्यसलाई वास्ता नै गरिरहेका छैनन् । ‘जब म बिरामी बेला सम्पर्क गर्ने साथीहरू र मानिसहरू बाहिर गइरहेको देख्छु वा सावधानी नअपनाई घुमिरहेको देख्छु, त्यो मलाई झापड हाने जस्तै लाग्छ ।’ ‘ठूलो सङ्ख्यामा मेरो उमेरका मानिसहरू मदिरालय जान चाहिरहेका छन् र साथीसँग मदिरा पिउन इच्छुक छन् । त्यस्तो देख्दा मलाई एकदमै गाह्रो हुन्छ ।’

के युवाका कारण सङ्क्रमण बढिरहेको छ ?
ब्रिटेनदेखि जापानसम्म र जर्मनीदेखि अस्ट्रेलियासम्म हालै देखिएका कोभिड(१९ सङ्क्रमण वृद्धिका लागि युवाहरूलाई आरोप लगाइएको छ ।

कैयौँ अधिकारीहरूले यो उमेर समूहका व्यक्तिहरू बाहिर निस्किरहेको र महिनौँदेखि लकडाउनका कारण दिक्क भएर उनीहरूले सामाजिक दूरीसम्बन्धी नियमहरू उल्लङ्घन गरिरहेको बताएका छन् । खुल्ला हुन थालेका होटल, भोजनालय र मदिरालयमा बढी युवाहरू कार्यरत रहेकाले यस्तो भएको कतिपय विज्ञले औँल्याएका छन् ।

हालै स्थानीय लकडाउनको घोषणा गर्दै ब्रिटेनको ग्रेटर म्यानेचेस्टरका उपमेयर रिचर्ड लिजले सङ्क्रमित युवाहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको बताएका थिए । उनले नयाँ सङ्क्रमितमध्ये अधिकांश युवा रहेको भन्दै उनीहरूले महामारी सकिएको ठान्दै जमघट र गैरकानुनी पार्टीहरूमा भाग लिइरहेको बताए ।

            जापानका सङ्क्रमितहरूमा सबैभन्दा ठूलो सङ्ख्यामा २० देखि २९ वर्षका व्यक्तिहरू रहेका छन्

टोकियोमा पनि युवाहरू मदिरालयमा फर्किन थाल्नुलाई सङ्क्रमण वृद्धि हुनुको कारण मानिएको छ । त्यहाँ सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्षका छन् । अस्ट्रेलियाको मेलबर्नमा पनि त्यस्तै अवस्था छ । त्यहाँ मानिसहरूलाई खानेकुरा र अत्यावश्यक सामग्री किन्न, व्यायाम र कामका लागि मात्रै घर बाहिर जान अनुमति दिइएको छ भने साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ ।

युरोपमा पनि बार्सिलोनादेखि उत्तरी फ्रान्स र जर्मनीमा सङ्क्रमण वृद्धि भएको छ । स्पेन र जर्मनीले रात्रीकालीन कर्फ्यु घोषणा गरेका छन् । फ्रान्समा नयाँ सङ्क्रमितमध्ये १५ देखि ४४ उमेर समूहका व्यक्तिमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ ।

विश्वासमा लिनु उपयुक्त
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका युरोप हेर्ने क्षेत्रीय निर्देशक डा. हान्स क्लुका अनुसार प्रमाणित भइनसके पनि नागरिक र स्वास्थ्य निकायहरूले युवाहरूमा बढी नयाँ सङ्क्रमणहरू देखा परिरहेको बताए ।

उनले युवाहरूलाई आरोप लगाउनुभन्दा उनीहरूलाई कसरी उपयुक्त ढङ्गले कोभिड-१९ नियन्त्रणमा संलग्न गराउने भनेर सोच्नुपर्ने बताए । गएको जुनमा सिकागोमा चिकित्सकहरूले भाइरसका कारण पूर्ण रूपमा दुईवटा फोक्सो क्षति भएकी एक महिलाको दुईवटै फोक्सो प्रत्यारोपण गर्नुपरेको थियो ।

           रामिरेजले शल्यक्रियापछि आफ्नै शरीर चिन्न नसकेको तर त्यसले आफ्नो जीवन बचाएको बताइन्

स्वस्थ्य अवस्थामा अस्पताल आएकी भनिएकी मायरा रामिरेजलाई १० मिनेटमै भेन्टीलेटरमा राख्नुपरेको थियो र उनले छ हप्ता भेन्टीलेटरमा बिताएकी थिइन् । उनले आफूलाई उपचारका क्रममा निक्कै पीडा भएको भन्दै भाइरसलाई ठट्टाका रूपमा नलिन उनले सुझाव दिएकी थिइन् ।

हालै डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोभिड-१९ को जोखिमबारे युवाहरूलाई बुझाउनु एउटा चुनौती रहेको बताएका थिए । उनले सङ्क्रमणले युवाहरूको पनि ज्यान जानसक्ने र युवाहरूकै कारण भाइरस अरूमा पनि सर्न सक्ने धारणा गत महिना एउटा सम्मेलनमा राखेका थिए ।

युवाहरूलाई कोरोनाभाइरसको कडा लक्षण देखिने जोखिम कम रहे पनि निको भएकाहरूको अनुभवबाट युवाहरू भाइरसको सबैभन्दा खराब असरबाट प्रतिरोधी नरहेको सङ्केत पाइन्छ । -बीबीसी

तपाईको प्रतिक्रिया