शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – काठमाडौका विभिन्न स्थानबाट ‘इनफ इज इनफ’ का दर्जनौं अभियान्ता पक्राउ परेका छन् । दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियान्ताहरु पक्राउ परेको अभियन्ता रविक उपाध्यायले जानकारी दिएका छन् । पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेतीलगायत छन् ।

सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको उपाध्यायको भनाइ छ । उनीहरु १२ बजेको पूर्व निर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै थिए ।

कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरुले लगातार सरकारको विरोध गर्दै आएका छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टिनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत मागसहित उनीहरु १४ दिनदेखि सत्याग्रहमा छन् । पक्राउ परेका अभियन्ताहरुलाई महाराजगञ्जमा राखिएको छ ।

तपाईको प्रतिक्रिया