आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदैं गर्दा तीज विशेष साँगीतिक कोसेलीहरु धमाधम सार्बजनिक भईरहेका छन् ।

यसैबीच जापानलाई कर्मथलो बनाउँदै आएका शिवा केसी र खेमराज पौडेलले तीज विशेष कोसेली ’ढुंगे छपनी’ बजारमा ल्याएका छन् । अर्जुन सुबेदीको शब्द संयोजन र सूर्य खड्काको लय रहेको ’ढुंगे छपनी’ मा दूर्गा पौडेलको छायाङ्कन र शंकर बिसीको निर्देशन रहेको छ भने शंकर बिसी र रबिना भण्डारीको फिचरिङ रहेको छ । खड्क बाजुरालीको संगीत संयोजन रहेको सो गीत जापानको पेन्टा स्टुडियोमा रेकर्ड गरिएको बताईएको छ ।

गीतमा नेपाली समाजमा विद्यमान तीज पर्वको परम्परागत धार्मिक तथा साँस्कृतिक महत्वलाई दर्शाउन खोजिएको छ भने यस्ता साँस्कृतिक पर्वहरुले सामाजिक सद्भावलाई थप सुदृढ बनाउन मदत पुग्ने सन्देश दिन खोजिएको छ । तीज पर्वको सेरोफेरोलाई विषयवस्तुकारुपमा उठान गरिएको ’ढुंगे छपनी’ मा मौलिकताको जगमा मायापीरतिको रंग घोलेर साँगीतिक परिकारका रुपमा पस्किएको पाईन्छ । परम्परागत नेपाली सँस्कारअनुसार योग्य बर पाउन तीजमा व्रत बस्ने धार्मिक आस्था र विश्वासको आधारलाई गीतमा विम्वकारुपमा प्रस्तुत गरिएको छ । दूरदराजका ग्रामीण परिवेशदेखि सहरिया जीवनशैलीको प्रतिनिधिमुलक झलक ’ढुंगे छपनी’ को दृश्यमा देख्न सकिन्छ ।

जापानमै रहेका सर्जक केशव पौडेलको यु-ट्युव च्यानलबाट हालैमात्र सार्बजनिक गरिएको सो गीतलाई सुनेर र हेरेर रचनात्मक सुझाव एवं प्रतिक्रिया दिई थप ऊर्जा प्रदान गरिदिन गायिका केसी र गायक पौडेलले समस्त संगीतप्रेमी नेपालीजनहरुमा अपिल गरेका छन् ।

प्रवासको कठिन परिवेशका वावजुद पनि साँगीतिक यात्रालाई निरन्तरता दिदैं आएकी गुल्मेली चेली शिवा केसीको ’सम्झना छ भने’ (२०१८ जून), ’मर्किए खुट्टा’ (२०१८ अगस्ट), ’गाईलाई गोठ’ (२०१९ डिसेम्वर), ’ माछो माछो भ्यागुतो’ (२०२० मार्च) लगायतका साँगीतिक कोसेली यस अगाडि नै बजारमा आईसकेका छन् ।

’ढुंगे छपनी’ का गायिका केसी र गायक पौडेल दूबैजना राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखामा पनि आबद्ध छन् ।

प्रवासभूमि जापानबाट उत्पादित तथा सिर्जित साँगीतिक सिर्जनाहरुको सूचीकृत एवं अभिलेखीकरण गरी सुरक्षित राख्ने तथा प्रकाशित गर्ने, साँगीतिक प्रतिभाको पहिचान, प्रोत्साहन एवं श्रीवृद्धि गर्ने जस्ता रचनात्मक कार्यमा पनि जापान शाखाको ध्यान जानुपर्ने आवाजहरु उठ्न थालेका छन् । ***  भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया