काठमाडौँ – भारतीय मेडिकल एसोसियसन (आइएमए) ले भारतमा कोरोना कम्युनिटी ट्रान्समिसनको स्टेजमा पुगेको भन्दै महामारीको स्थिति निकै खराब अवस्थामा पुगेको चेतावनी दिएको छ ।
ग्रामिण इलाकामा कोरोना फैलिनुले कम्युनिटी ट्रान्समिसनको संकेत भएको मेडिकल एसोसियसनले बताएको छ । आइएमए हस्पिटल बोर्ड अफ इंडियाका चेयरम्यान डा. वीके मोंगाले समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै भारतमा हरेकदिन ३० हजारभन्दा बढी संक्रमित देखिएको भन्दै यो निकै खराब अवस्था भएको बताएका छन् । उनले ग्रामिण इलाकामा फैलिएकाले अब अवस्था निकै खराब बनेको बताएका छन् ।
डा. मोंगाले चेतावनी दिदै गाउँमा कोरोना रोकथाम गर्न सरकारलाई निकै मुश्किल हुने बताएका छन् । उनले भनेका छन् – ‘दिल्लीमा त कोरोना रोक्न सकिएला तर महाराष्ट्र, केरला, गोवा र मध्यप्रदेशका ग्रामिण इलाकामा के हुन्छ ? राज्य सरकारले केन्द्रसँग मिलेर स्वास्थ्य संकट बढ्नबाट रोक्न ढीला गर्नु हुदैन ।’
तर भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने भारतमा कम्युनिटी ट्रान्समिसनलाई भने अहिलेसम्म खारेज गर्दै आएको छ । केरलका मुख्यमन्त्री पिनरई विजयनले तिरुवंतपुरमका केहि हिस्सामा कम्युनिटी ट्रान्समिसन देखिएको स्वीकार गरेका छन् । शनिबार मात्र तिरुवंतपुरमलाई तीन कन्टेनमेन्टमा बाडेर १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।
डा.मोंगाले हर्ड इम्युनिटी र भ्याक्सिन मात्र कोरोना रोकथामको एक मात्र उपाय भएको बताए । भ्याक्सिन कैयौं ट्रायल, मानव ट्रायल र प्रभाव र साइड इफेक्ट अध्ययनपछि मात्र आउने हुनाले अझै समय लाग्ने बताए । भारतमा अब दुई भ्याक्सिन मानवीय ट्रायल शुरु गर्ने चरणमा पुगेका छन् । अल इंडिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) को इथिक्स कमिटीले शनिबार मात्र पहिलो भारतीय भ्याक्सिन कोभ्याक्सिनको मानवीय ट्रायलको अनुमति दिएको छ ।
एम्सले सोमबारदेखि यस भ्याक्सिनको मानवीय ट्रायलका लागि स्वयं सेवकको भर्ना शुरु गर्दै छ । त्यस्तै भारतमा बनेको दोस्रो भ्याक्सिन जाइडस कोडिला (ZyCov)यसै साता मानव ट्रायलको सुरुवाती चरणमा पुगेको छ । भारतमा अहिलेसम्म ११ लाखभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ ।