आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

अलग देश अलग भेष अनि अलग भाषा जब यो सबै कुरा अलग्गै हुन्छ भने, आ-आफ्नो स्वाद पनि अलग्गै हुनु स्वभाबिक नै भयो ! त्यसमाथी जन्मिएको र हुर्किएको देश पनि अलग, पालेको र बढेको संस्कृति पनि अलग, भान्सामा पाक्ने र मन पर्ने स्वाद पनि अलग !

विवाह संस्कार अनुसार बिहे गरेर म उनको घरमा आएको थिएँ । उनी मेरो घरमा आएका थिएनन् । बिहे गरेको केहि समयसम्म भान्सामा उभिन जान मलाई डर लाग्थ्यो । उभिन गयो आज के पकाउँदैछौं भनेर श्रीमान पनि सँंगै उभिन आउने, जापानको घर साधारणतया सानो भान्सा । एकैचोटी दुईजना उभिन सक्नु भने तपाईं आफूलाई भाग्यमानी सम्झिनुस ! जब हामीसंगै भान्सामा उभिन जान्थेऊ तब मेरो टाउको दुख्थ्न थाल्थ्यो ।

किनकि जापानी खाना मलाई पटक्कै मन नपर्ने । सबैलाई आ–आफ्नो स्वाद अनुसारको खाना खान मन हुन्छ । लामो समयसम्म आफ्नो जिब्रोले बोकेको स्वादको संस्कृति पनि सबैलाई प्यारो हुने नै भयो । यहाँ मैले पहिलोपटक जापानको भान्सामा अनुभव गरेको खानाको स्वादको बारेमा तपाईंहरुको सामु राख्दैछु । कतिपयको भान्सामा म सहयोगीको रुपमा उभिएको पनि थिएँ, जस्तो मामाघरमा, सनिमाहरुकोमा दिदी कहाँ, बैनी कहाँ, सबैतिर मैले सहयोग गरेर बनाएको खाना मीठो नै भनेर तारिफ पाएको थिएँ । तर अरुका भान्सामा सहयोगीको रूपमा उभिएको म र मेरो श्रीमानको घरमा उभिएको ममा केहि डर केहि त्राश केहि झन्झट भैराखेका थियो त्यो दिन ।

मलाई भने खाना पकाउने बेलामा यो पुरुष मान्छे (श्रीमान)संगै उभिएको पटक्कै मन परेको थिएन । यो लकडाउनमा मैले धेरै लेखहरू लेखें (कथा, कविता, मुक्तक र गजलहरु) तर आज अलग्गै विधामा लेख्ने कोशिस गरेको छु । यो लेख लेख्दासम्म आफूलाई केहि लेख लेख्दा एक पजे भन्दा बढी लेख्न सक्छु जस्तो लागेको थिएन । लेख्दै जाँदा मनमा लागेका सबैकुरा कहिल्यै पूरा गर्न पनि सकेको थिईनँ । मलाई घर र अफिसको कामले नै अल्झाइरह्यो । भान्सामा मेरो र उनको स्वादको बारेमा पनि मैले निकै लामो मेहनतपछि मात्र लेख्न सफल भएको जस्तो लागेको छ ।

उनको सबै परिवारले मलाई माया नै गर्नुहुन्थ्यो । मैले जापानमा भएका साना-तिना कुराहरु सबै बिर्सिसकेकी छु । मैले मलाई मन पर्ने जापानी खाना र स्वादको बारेमा मात्र केहि लेख्न लागेकी छु । मैले मलाई सानैदेखि यो चिज खान हुन्न भनेर सिकाइएको बस्तु मेरो भान्सामा सकेसम्म नपाके हुन्थ्यो भनेर अनुरोध मात्र गर्न खोजेकी याद आउँछ, तर यो कुरा निकाल्यो कि झगडा पर्ने पर्थ्यो । ठिकै छ गल्ती मेरै हो, कि त जापानीसंग बिहे नै गर्न हुँदैन थियो कि जे पनि खान सक्नुपर्थ्यो ।

                    ग्रिष्मा पौड्याल, टोकियो

मलाई उनको स्वादले कसरी मेरो स्वाद परिवर्तन गरायो भन्ने सन्दर्भमा आफैंलाई नै थाहा भएन । उनको सारा परिवारलाई मसलेदार खाना खाने बानी थिएन । मेरो भने सादा खाना खाने बानी नै थिएन । उनको परिवारलाई खानामा पिरो पटक्कै मन पर्दैन थियो । म भने पिरो नभई खाना नरुच्ने स्वभाबकि थिएँ । म चुपचाप आखाँबाट आँसु चुहिए पनि उनकै परिवारको स्वादमा मिल्ने प्रयास गरिरहेकी हुन्थे । सुरू सुरुमा त कहिले-काहीँ खाना पकाउँदा लाग्थ्यो पुरै खुर्सानी त्यसैमा खन्याईदिउँ । तर, परिवारका अन्य सदस्यहरूलाई पनि पिरोदेखि डर लागेको देखेपछि पछिल्ला दिनहरुमा आफ्नो हात आफैं रोकें ।

उनको भान्सामा त्यस्ता थुप्रै जापानी मसलाहरू थिए जुन मलाई पटक्कै मन नपर्ने थियो, न त मलाई नाम नै थाहा थियो । मलाई मात्र एउटा मसलाको नाम थाहा थियो त्यो हो ‘अजिनोमोटो’ । अजिनोमोटो स्वास्थ्यको लागि राम्रो हुन्दैन भन्ने हल्ला पहिला नै नेपालमा हुँदा सुनेको थिएँ । वाईवाई चाउचाउ सुरुमा आँउदा त्यसमा अजिनोमोटो हालेको हुन्छ र त्यो मानिसको स्वास्थ्यको लागि राम्रो र मान्छेको शरीरको हड्डी कमजोर बनाउँछ भन्ने सुनेको थिएँ, त्यसैले खानामा अजिनोमोटो पटक्कै हाल्न मन लाग्ने थिएन । उनलाई भने हरेक कुरामा अलिकति अजिनोमोटो हाल्यो भने खाना मिठो हुन्छ रे भन्ने लागेको रहेछ । मलाई मनपर्ने मसलाहरू उनको भान्सामा थिएन । तर उनको भान्सामा सधैजसो पाक्ने कुरा मैले कहिल्यै मुखमा नै नहालेको धेरै हुन्थ्यो । अन्त्यमा स्वादको लडाइँमा उनको स्वादले नै मलाई जित्यो । उनको परिवारकोले पनि मेरो स्वादलाई अलिअलि स्वागत चाँहि गरे तर, धेरै जसो मैले नै उनको स्वादलाई सहर्ष स्वीकार गरेँ ।

विवाह पश्चात् उनी पनि कहिले काहीं मेरो घरको भान्सामा एक दुई चोटी उभिएका भने थिए । मेरो घरको भान्सामा पनि उनको स्वाद अनुसार कै खाना पाक्न थालिसकेको थियो । आमाले जहिले नि सोध्नुहुन्थ्यो–‘ज्वाइँलाई के खाना मन पर्छ ?’ भनेर । मेरो भान्सामा पनि म जाँदा मेरो मन पर्ने कुरा भन्दा उनका मन पर्ने परिकार धेरै पाकेका हुन्थे, कहिले–काहीँ मलाई मन पर्ने खाना पाक्न आँटे पनि म नै मम्मीलाई भन्थेँ- ‘ज्वाइँलाई यो मन पर्दैन त्यसैले यो नै बनाए हुन्छ, कहिल्यै उनलाई मेरो भान्सा अनुसार स्वाद परिवर्तन गर्नु परेको मलाई थाहा छैन । बरू उनी एकजनाका लागि हाम्रो भान्साले केहि दिन स्वाद बदल्ने शौभाग्य पाएको हुन्थ्यो । मैले भान्सामा कहिल्यै मेजमानी पाइनँ । न उनको भान्सामा न त मेरो भान्सामा नै ।

यहाँ अरु हरेक कुरामा समानता छ, तर उनको भान्सामा पनि उनको स्वाद अनुसारको खाना पाक्ने र मेरो भान्सामा पनि उनकै स्वाद अनुसारको परिकार पाक्नु पर्ने नियम चाँही मलाई पटक्कै मन परेको थिएन । कहिले काँही मम्मीले भन्नु हुन्थ्यो खाना पाक्नु अगाडि ज्वाई भान्सामा पस्दा लाज हुन्छ रे ! अनि, बुहारी चाँही उनको भान्सामा नपस्दा लाज हुन्छ रे ! यसो सोच्थे कस्तो अचम्मको चलन ! कसले बनायो होला ? यस अर्थमा भान्सा मेरै दाइजो हो । तर, भान्सामा पाक्ने हरेक परिकार र त्यसको स्वादको छनोट भने कहिल्यै मेरो हुन सकेन । यसमा न उनको दोष थियो न मेरो नै, दोष थियो त केवल हाम्रो साउथ असिएन सोचाइको ! वास्तवमा न उनले मलाई भेदभाव गरेका थिए न उनले मेरो स्वाद परिवर्तन गर्न कुनै जबर्जस्ती नै गरेका थिए । तर भान्सामा मैले आफूले आफूलाई गरेको व्यवहार पनि अलिकति दोषी हो कि ? जो हाम्रो संस्कार, सिकाईएको संस्कृति, परम्परा र पुरुष प्रधान सत्तासँग जोडिएर आएको थियो ।

विवाहका केही वर्षपछि त उनको भान्सालाई मैले हाम्रो बनाइसकेको थिएँ । अब यहाँ स्वादमा केही फरकपन थिएन । मलाई मन नपरेका धेरै कुराहरू मिठा लाग्न थालिसकेका थिए । केही–केही कुरामा उनको स्वादमा पनि परिवर्तन भने नभएको होइन । तर पनि मेरै स्वादअनुसारको खाना उनले पकाएको भने मलाई थाहा छैन । उनले पकाएको खानालाई मैले नमिठो चाहिँ भन्न सकेकी थिईन् बरू, मेरो स्वादमा विस्तारै परिवर्तन हुन थालेको भने मलाई पक्का थाहा थियो । मलाई उनले पकाएको खानाको बानी पनि परिसकेको थियो । छोरी पाउँदा अस्पतालमा बस्दा हरेक दिन उनले नै मलाइ विभिन्न परिकार पनि पकाएर ल्याइदिन्थे । तर, एउटा समस्या चाँही छ है ! आजकल भान्सामा म बसे अलिकति बढी नेपाली स्वाद र उनले पकाए जे पनि जापानी स्वाद हुन्थ्यो त्यो चाइ मैले बुझ्न सकेको थिईन ।

उनले खाना पकाएपछि आजसम्म कहिल्यै भाँडा भने मझेका छैनन् खै किन हो कुन्नी ! शायद भाँडा माझ्ने जिम्मा भने सके पनि नसके पनि मेरो नै हो । अनि कहिले काँही खाना नपुग्दा भोकै बस्नुपर्छ भन्ने कुरा पनि उनलाई थाहा थिएन, डढेको भातको स्वाद कस्तो हुन्छ पनि उनलाई थाहा थिएन । सबैलाई खुवाएर तरकारी नपुग्दा निस्तै भात खाँदाको अनुभव उनलाई पटक्कै थाहा थिएन होला । भान्सामा महिलाहरू मीठो चिज अरूलाई बाँडेर जे बचेको आफूले खान रूचाउँछन् । परिवारमा छोरा–छोरी, श्रीमान्, परिवारका अन्य सदस्यहरूलाई मिठो–मिठो मासु छानेर दिई हड्डी र छाला नै आफूलाई मन पर्छ भन्दै मुस्कुराउँदै खाने बानी पनि उनलाई थाहा थिएन । मैले भान्सामा मेरो लागि कहिल्यै मेजमानी पाकेको पनि थाहा पाइनँ । मेरो भान्सामा उनले खाएको थाल पनि उठाउन खोज्दा सबै हाँसेको अहिले पनि सम्झन्छु । उनले खाएको थाल चाँही ज्वाईले उठाउन हुन्दैन रे । तर उनको भान्सामा मैले कहिले थाल छोडेको याद पनि चाहे बिरामी हुँदा होस् या सध्धे हुँदा । यो मेरो संस्कार र मैले पाएको जापानी बुहारीको दर्जा हो रे ।

यहाँ अरु हरेक कुरामा समानता छ तर, उनको भान्सामा पनि उनको थाल उनले उठाउनुपर्ने भन्ने कुरामा चाँही समानता छैन । अनि मेरो भान्सामा चाँही वाइँले थाल उठाउन खोज्दा लाज हुन्छ रे ! ‘ज्यूनार’ गर्न बोलाएपछि मात्र उनी सवारी हुनु पर्ने रे ! अनि, बुहारी भान्सामा नपस्दा लाज हुन्छ रे यो चाँही सबै एसियन देशहरुको नियम एउटै रैछ ।

उनले कतै नौलो खाना या तरकारी या अचार खाए भने घरमा आएर बालाई बताउने र त्यहि अनुसारको खान बनाउने चाइ कोशिस फेरी चल्छ, खै किन हो कुन्नी । उनी नौलो–नौलो खानामा अत्ति शोखिन । सायद, यसै कारणले होला उनलाई छिट्टै सुगरको रोगले पनि समातेको । फेरी खान बस्दा कसैको भाग पुगोस् कि नपुगोस् नपुग्दा अल्लि थोरै खानु पर्छ भन्ने कुरा पनि उनलाई थाहा थिएन ।

कहिले काँही उनले भान्सामा नयाँ-नयाँ परिकार बनाएर ख्वाई मलाई सोध्ने गरेको पनि याद छ । ‘खाना कस्तो भयो’ ? भनेर । प्रायः नयाँ परिकार मसँग खाने भनेर पर्खिएका थुप्रै उदाहरणहरू पनि थिए । उनी बेला–बेलामा भन्ने गर्छन् ‘म जस्तो लोग्ने पाउनु त तिम्रो अहो भाग्य हो’ बनेर । उनले त मलाई माया नै गर्थे, अनि सम्मान पनि । सायदै यहाँ कतै पनि विभेद देखिएको थिएन तर मैले भोगेका कुरा मात्र मलाई थाहा थियो कि भने मेरो भगवानलाई ! मैले उनको भान्सालाई स्वीकारे जस्तै उनको भान्साले पनि मलाई कहिले स्वीकार गर्ला भन्ने प्रश्न मात्र राख्न खोजेकी थिएं । सुन्नेलाई सामान्य लाग्ला । देख्नेले पनि अस्वाभाविक केहि देखेनन् होला ।

तर दोष मेरै हो ! मैले कहिल्यै बोलिनँ । भान्सामा मलाई मेरो इच्छाका परिकारभन्दा अरुको इच्छालाई नै ध्यान दिनुपर्छ भन्ने सानैदेखि सिकाइएको थियो । मैले मेरो स्वादलाई अन्याय गर्दा सधैं मलाई खुसी मिल्ने गर्दथ्यो । तर मेरो अनुभवमा भान्सासँग जोडिएको हाम्रो संस्कार, गर्दै आएको व्यवहार अनि पुरुष सत्ताले मेरो स्वतन्त्रतामा मात्र होइन, मेरो स्वादमा पनि नियन्त्रण गरेको हुने रैछ यो बल्ल आएर बुझ्दैछु ।

तपाईको प्रतिक्रिया