शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

(फाइल फोटो)

टोकियो – जापानमा यस बर्षको मे महिनामा जापान आउने पर्यटकहरुको संख्या ९९ दशमलब ९ प्रतिशतले घटेको छ । जापान सरकारले जारी गरेको तथ्यांक अनुसार गत बर्ष जापान आएका पर्यटकहरुको तुलनामा यस बर्ष भारी मात्रामा गिरावट आएको हो । जापानमा मे महिनामा १७ सय जना मात्र बिदेशी पर्यटकहरु भित्रिएका छन् । यो संख्या जापानमा लगातार दोस्रो महीनाको लागि सबै भन्दा न्यून हो ।

अप्रिल महिनामा भने जापानमा २ हजार ९ सय विदेशी पर्यटकहरु भित्रिएका थिए । जापानमा बिदेशी पर्यटकको संख्या यति धेरै घटेको तथ्यांक राख्न थालिएको १९६४ साल पछि यो पहिलो पटक हो ।

हाल जापानले १ सय ११ देश तथा क्षेत्रहरुलाई यात्रा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस नियन्त्रणको लागि यात्रामा प्रतिबन्ध लगाएपश्चात लगातार मासिक विदेशी पर्यटकको संख्या कम भएको हो ।

कोरोना भाइरसको विश्वब्यापी प्रकोपका कारण ठप्प बनेको पर्यटन उद्योगलाई सूचारु गर्न जापान सरकारले यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाउने तयारी गरिरहेको छ भने घरेलु पर्यटकहरुलाई यात्रामा लाग्ने खर्चको केहि प्रतिशत राहत दिने जस्ता योजनाहरु पनि तयार गरिरहेको छ । ***

तपाईको प्रतिक्रिया