शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापानको राजधानी टोकियो विश्वमै एक विकसित, धनी र प्रविधिमा अगाडि रहेको सहरको रूपमा चिनिन्छ । तर पनि सन् २०१९ मा टोकियो महानगरपालिकाले जारी गरेको तथ्यांकअनुसार यहाँ पाँच हजार एक सय २६ घरबारविहीन  (होमलेस) मानिस बस्दछन् । ३० बर्ष उमेर समुहका होमलेसहरु मध्ये धेरैले सन् २००८ को आर्थिक मन्दीको समयमा रोजगार गुमाएको र ५० बर्ष उमेर समुहकाहरुले भने उमेरको कारण काम पाउन गारो भएको सर्बेक्षणको क्रममा बताएका छन् ।

यीमध्ये चार हजार नेट क्याफे शरणार्थी हुन् । एक हजार बेरोजगार विभिन्न पुलमुनि, कार्डबोर्डको बक्सामा, पार्क र खोला किनारमा पाल टाँगेर बस्ने गर्छन् । सरकारी तथ्यांकले यस्तो देखाए पनि विभिन्न च्यारिटी समूहले घरबारविहीनको संख्या अझै बढी हुन सक्ने अनुमान लगाएको छ ।

सस्तो पर्ने कारण मानिसले होटेलको विकल्पमा नेट क्याफेलाई रोज्न थालेकाले यो बिस्तारै घरबारविहीनको आश्रयस्थल बन्न थालेको मेइजी गकुइन विश्वविद्यालयका सामाजिक मानवशास्त्री टम गिलले बताए ।

जापानमा दिनरात चल्ने यस्ता क्याफेमा इन्टरनेट चलाउने, कम्प्युटरमै कमिक कथाहरू पढ्ने र भिडियो हेर्नुका साथै नुहाउने, लुगा धुनेलगायतका सुविधा पनि दिइन्छ । सबैभन्दा महत्वपूर्ण यहाँ रहेका आरामदायी कुर्सी एक घण्टा, दिनभरि वा रातभरि आराम गर्न र सुत्नका लागि भाडामा लिन मिल्ने व्यवस्था हुन्छ ।

एउटा साँघुरो बाटो राखेर पातलो काठले कोठा बारिएका यस्ता क्याफेको भाडा ठाउँ नै पिच्छे फरक छ । तर सामान्यतया एउटा निजी बुथको भाडा १७००  देखि १९००  येन अन्य दिनमा, ३००० येन साप्ताहिक बिदा र सार्वजनिक बिदामा पर्ने गरेको छ । यस्ता धेरै इन्टरनेट क्याफे टोकियो सहरमा छन् जहाँ कुनै पनि व्यक्तिले एक रात सुत्नका लागि सजिलै पाउन सक्छ ।

जापानमा सन् १९९० को दशकदेखि नै यस्ता नेट क्याफे शरणार्थीहरूको अस्तित्वमा रहेका थिए । नेट क्याफेले यस्ता व्यक्तिहरूलाई आश्रय दिनुका साथै उनीहरूको परिचय गोप्य राख्छ । क्याफे सञ्चालकले केही प्रश्न गर्छन् र अगाडि नै नगद भुक्तानी लिन्छन् । पहिचान गोप्य राखिँदा परिवार र कम्पनीले व्यक्ति कहाँ बसिरहेको छ भन्ने जानकारी पाउँदैनन् । त्यसैगरी कानुन र ऋण छल्न भागेकाहरूलाई पनि यो उपयुक्त आश्रयस्थल बनेको भेटिन्छ ।

 

तपाईको प्रतिक्रिया