बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो– कोरोना भाइरसको संक्रमण बढेर वित्तीय भार चुलिएसँगै जापानको अर्थतन्त्र मन्दीमा गएको छ । सन् २०२० को पहिलो त्रैमासमा अर्थतन्त्र वार्षिक ३ दशमलव ४ प्रतिशतले खुम्चिएको छ । गत वर्षको अन्तिम त्रैमासमा पनि अर्थतन्त्र ६ दशमलव ४ प्रतिशतले खुम्चिएको थियो । योसँगै अर्थतन्त्र २०१५ यताको पहिलो पटक मन्दीमा गएको छ ।

जापानको कुल ग्राहस्थ उत्पादनको आधा हिस्सा ओगटेको व्यक्तिगत उपभोगको दर ० दशमलब ७ प्रतिशतले घटेको छ । मानिसहरुले बाहिर खाना खान ननिस्कने तथा पर्यटकीय गतिविधिमा कमी आएका कारण त्यसो भएको हो । जापानबाट निर्यात हुने सवारीसाधनको बिक्री समेत घटेको छ ।

कोरोना भाइरसको महामारी र अक्टोबरमा गरिएको विक्री कर वृद्धिका कारण जापानी उपभोक्ताहरु प्रभावित भएका छन् । जापानले गत बिहिवार अधिकांश प्रिफेक्चरमा आपतकाल हटाएको भएपनि चालु त्रैमासको आर्थिक परिदृश्य पनि धूमिल नै छ ।

महामारीको मारबाट आम जनता, व्यवसाय र अर्थतन्त्रलाई जोगाउन सरकारले १० खर्ब डलरको स्टिमुलस प्याकेजको घोषणा गरेको छ । केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले पनि स्टिमुलस उपायहरु अप्रिलमा लगातार दोस्रो महिना पनि विस्तार गरेको छ । महामारीको झट्का कम गर्न यसै महिना दोस्रो पूरक बजेट ल्याउने वाचा प्रधानमन्त्री सिन्जो आबेले गरेका छन् ।

कोरोना भाइरसको महामारीको मारमा अहिले समग्र विश्व अर्थतन्त्र छ । महामारीका कारण विश्व अर्थतन्त्रले समेत यस वर्ष ८८ खर्ब डलरसम्म गुमाउने अनुमान भर्खरै मात्र बहुपक्षीय कर्जादाता निकाय एशियाली विकास बैंकले गरेको थियो । जर्मन अर्थतन्त्र पनि मन्दीमा गएको गत हप्ता सार्वजनिक भएको तथ्यांकले देखाएको छ । महामारी नियन्त्रण गर्न लागू गरिएको कठोर बन्दाबन्दीका कारण अन्य प्रमुख अर्थतन्त्र समेत प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया