आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा नदिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन् ।

एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको थियो । तर गत साता उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन् । अदालतको निर्णय आउनुअघि नै लामिछानेले कीर्तिपुरमा नियमित प्रशिक्षण गरिरहेका थिए ।

क्यानले अब के गर्छ?
अदालतको निर्णय आएपछि उनलाई विश्वकप प्रतियोगितामा खेल्न पठाउन खोजिएको थियो । ‘अब एक पटक पहल पर्छु प्रधानमन्त्री ज्यूलाई। परराष्ट्रमन्त्रीलाई जानकारी भइसक्यो होला । खेलकुदमन्त्रीले फोन उठाउनुभएन, यो देशसँग जोडिएको कुरा हो,’ क्यानका अध्यक्ष चन्दले भने ।

उनका अनुसार अमेरिकाले भिसा अस्वीकृत हुनुको कारण खुलाएको छैन । ‘के कारण उसले भन्दैन । उनीहरूले भिसा अस्वीकृत गरे । यो क्रिकेटका लागि नै नराम्रो भयो,’ उनले भने ।

क्यानका अनुसार अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताका लागि बिहीवारको समय दिएको थियो । तर सो दिन बुद्ध जयन्तीको सार्वजनिक बिदा भएका कारण अनुरोध गरेर बुधवारका लागि भिसा अन्तर्वार्ताको समय सारिएको थियो । ‘अदालतको आदेश, आईसीसीको पत्र, क्यानको पत्रसहितको प्रक्रिया गर्दा पनि अस्वीकृत भयो,’ चन्दले भने । लामिछानेको पुरानो भिसा २०२५ सम्मको भए पनि अमेरिकाले यसअघि रद्द गरिसकेको चन्दले बताएका छन् ।

क्यानले के गरेको थियो ?
क्यानले अदालतको निर्णयबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरेको बताएको थियो । क्यानका सचिव पारस खड्काले मङ्गलवार राति लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए । लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो । अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपालले पनि सहभागी हुन लागेको छ । बीबीसी

तपाईको प्रतिक्रिया