Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ विश्वकै लागि नयाँ खालको रोग हो । सजिलै मानिसमा सर्ने यो रोगको खास औषधि पत्ता लागेको छैन । लक्षणअनुसारको उपचार गर्ने विधि नै उपचारको महत्वपूर्ण विधि भएको चिकित्सकको भनाइ छ ।

विश्वका २१५ भन्दाबढी देशमा फैलिइसकेको उक्त रोग फैलिन नदिन सबैभन्दा महत्वपूर्ण भनेको सामाजिक दूरी काम गर्नु नै हो । सङ्क्रमण फैलिन शुरु गरेपछि भने उपचारविधिलाई प्रभावकारी बनाउनुपर्छ । रोगको उपचारमा अग्रपङ्क्तिमा रहने स्वास्थ्यकर्मी नै हो । स्वास्थ्यकर्मीमा पनि नर्सको भूमिका महत्वपूर्ण हुन्छ ।

चिकित्सकले स्वास्थ्य जाँच गरेपछि उनीहरुलाई रेखदेख गर्ने, स्याहार गर्नेदेखि औषधि पानीको व्यवस्थापन र नियमित अन्य परीक्षणको काम नर्सले नै गर्नुपर्छ । नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्राध्यापक मनकुमारी राई अहिलेको कोरोनाको कहरले नर्सिङ शिक्षालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्छ भन्ने पाठ सिकाएको बताउनुहुन्छ ।

शुरुआती चरणमा नेपाली नर्समा धेरै समस्या नभएको होइन । उनीहरु अन्यौलमा थिए । तर विस्तारै अभ्यस्त हुँदै नर्सललागयत स्वास्थ्यकर्मीले ठूलो साहसका साथ काम गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको उपचारमा सक्रिय भएर लागेकामा आम स्वास्थ्यकर्मीको प्रशंसासमेत गर्नुभएको थियो ।

कोभिड-१९ कै कारण यस वर्षलाई विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘नर्स तथा स्वास्थ्य स्वयंसेवीका वर्ष’ घोषणा गरेका सन्दर्भमा नर्स र स्वयंसेविकाको भूमिका अझै बढेर गएको छ । “यो बेलाको कोरोना कहरले नर्सिङ शिक्षालाई प्रयोगात्मकरुपमा लैजानुपर्छ, यो अहिलेको आवश्यकता हो भन्ने पाठ सिकाएको छ”, राईले आज स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा भन्नुभयो, “अबको स्वास्थ्य शिक्षा कस्तो बनाउने भन्नेमा पनि एउटा मार्गनिर्देश गरेको छ ।”

वर्तमान विषम परिस्थितिमा स्वास्थ्यकर्मीले जोखिमका साथ अस्पतालमा काम गरिरहेका छन् । नर्सिङ शिक्षालाई कसरी व्यावहारिक बनाउने भन्नेमा यो पटक केही समस्या देखियो । अध्यक्ष राईले अब जथाभावी संस्था खोलेर उत्पादन मात्रै गर्नुभन्दा गुणस्तर मापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कोभिड– १९ को शुरुआती चरणमा आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको समेत समस्या देखिएको थियो । कस्तो सामग्री आवश्यक हुने, कस्तो प्रयोग हुने भन्नेमा पनि समस्या आयो । कोरोनाको सङ्क्रमणले स्वास्थ्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने र त्यसको व्यवस्था पहिले नै गर्नुपर्ने कुरासमेत सिकाएको छ । यस विषयमा राईले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकषर्णसमेत गराउनुभएको छ ।

“फ्रन्टलाइमा नर्स, डाक्टर वा जो काम गरिरहनुभएको छ, गाह्रो समयमा खटिरहेकै हो, स्वास्थ्यकर्मीको हिम्मत जुटेकामा सराहना गर्नैपर्छ, उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ”, राईले थप्नुभयो । उहाँले घर, गृहस्थी हेर्ने र कोरोना सङ्क्रमण भएका बिरामीको स्याहार गर्नुपर्ने दोहोरो काम भएकाले पनि नर्सका लागि विशेष ख्याल गर्नुपर्ने, उनीहरुको स्वास्थ्य जाँच गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । अहिले दाताले दिएको पिपिई कस्तो छ । सङ्क्रमण रोक्न सक्छ कि छैन भने र गुणस्तर नाप्ने संयन्त्र आवश्यक भएको उहाँले बताउनुभयो ।

समन्वय समूह बनाएर व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता अहिलेको अवस्थाले देखाएको भन्दै उहाँले सरकारलाई सुझाव दिनुभयो । नर्स, डाक्टर, सुरक्षाकर्मी, सरसफाइकर्मी सबैलाई उपयुक्त सेवा दिनसके अझै उच्च मनोबलका साथ काम गर्नेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

उहाँले कोभिड-१९ रोकथामका लागि सबै क्षेत्रमा काम गर्ने नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कामको प्रशंसासमेत गर्नुभयो । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड-१९ को रोकथाममा नर्स तथा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया