शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

क्योतो । क्योतो प्रिफेक्चर तथा क्योतो सहरले केन्द्र सरकारलाई आपतकालिन अवस्था घोषणा गरिएका स्थानहरुमा संलग्न गर्न अनुरोध गर्ने निर्णय गरेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढेसंगै सो निर्णय गरिएको हो ।

शुक्रबार आयोजित एक पत्रकार सम्मलेलनमा बोल्दै क्योतो प्रिफेक्चरका गभर्नर निशीवाकी ताकातोसी र क्योतो सहरका मेयर कादोकावा दाइसाकुले आपतकाल घोषणाका लागि केन्द्र सरकारसमक्ष अनुरोध गरिने बताए ।

गभर्नर ताकातोसीले प्रधानमन्त्रीले घोषणा गरेका ७ प्रिफेक्चरहरुजस्तै क्योतोमा पनि संक्रमणको अवस्था गम्भिर रहेको बताए । केन्द्र सरकारले आपतकालिन स्थिती घोषणा गरेपश्चात नियमहरु लागू गर्न आफुलाई सहज हुने उनको भनाई छ ।

कान्साइ क्षेत्रको तथ्यांकमा कोरोना भाइरसको संक्रमण हुनेमा क्योतो तेस्रो स्थानमा छ, क्योतोले ओसाका र ह्योगो प्रिफेक्चरलाई पच्छ्याइरहेको छ । क्योतोमा हालसम्म १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण बढेसंगै अति आवश्यक बाहेक घरबाहिर ननिस्कन र क्योतो क्षेत्रमा पर्यटकहरुलाई नआउन समेत अनुरोध गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया