काठमाडौं – कोरोना भाइरसले अमेरिकी समाज र अर्थतन्त्रलाई गाज्दै लगेपछि त्यसको चरम आर्थिक असरका संकेतहरु देखिन थालेका छन् ।
वर्गीकृत विज्ञापन
न्यु योर्क टाइम्सका अनुसार पछिल्लो हप्ता अमेरिकामा इतिहासमै पहिलो पटक ३३ लाख अमेरिकी नागरिकले आफू बेरोजगार भएको भन्दै भत्ता र अन्य सहयोगका लागि सरकारलाई निवेदन दिएका छन् । अमेरिकाको लेवर डिपार्टमेन्टले यो तथ्य बाहिर ल्याएपछि कोरोनाले अमेरिकी अर्थतन्त्रलाई कति ठूलो धक्का दिइरहेको छ भन्ने सार्बजनिक भएको छ ।
तीन हप्ता अघिसम्म जम्मा देशभर दुई लाख अमेरिकी नागरिकले मात्र बेरोजगार भत्ताको माग गर्दै निवेदन दिएका थिए । योभन्दा अघि सन् १९८२मा एउटै हप्तामा ६ लाख ९५ हजार अमेरिकीले बेरोजगार भत्ताका लागि निवेदन दिएका थिए । पछिल्लो हप्ता त्यो भन्दा झण्डै पाँच गुना बढीले निवेदन दिएका छन् ।
‘अर्थतन्त्रको ठूलो हिस्सा ध्वस्त भएकोछ,’ आर्थिक तथ्याङ्कको अध्ययन गर्ने एक संस्थाका प्रमुख वेन हेर्जोले भने । केही अर्थशास्त्रीहरुले यो वर्षको अर्थतन्त्रमा सन् २०३० को ‘ग्रेट डिप्रेसन’ पछिकै सबैभन्दा ठूलो मन्दी आउने अनुमान गरेका छन् । अमेरिकामा कोराना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा धेरै पुगेको छ । यो संख्या लाखौ पुग्ने अनुमान छ ।