मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा व्यवसायी दीपक मल्होत्राले शनिबारदेखि दैनिक ७० हजार मास्क उत्पादन गर्ने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) फैलिनसक्ने त्रासका बीच मास्क अभाव भएका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन गर्न लागेका हुन्।

शनिबारदेखि दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन गर्ने तयारी भइरहेको चेम्बरका उपाध्यक्ष समेत रहेका मल्होत्राले बताए। ‘हाम्रो लक्ष्य शनिबारदेखि मास्क उत्पादन गर्ने छ’, मल्होत्राले भने, ‘आइतबारदेखि बजारमा मास्क उपलब्ध हुन्छ।’

मास्क उत्पादन गर्ने उक्त मेसिन बुधबार बेलुकासम्म काठमाडौंमा आइपुग्ने उनले बताए। भारतको चेन्नाईबाट लोड गरिएको उक्त मेसिन मंगलबार बेलुकासम्म सुनौलीमा आइपुग्नेछ।

बिहीबार र शुक्रबार मेसिन जडान गर्ने र शनिबारदेखि उत्पादन सुरु गर्ने तयारी छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि आइतबारदेखि बजारमा पर्याप्त मास्क उपलब्ध हुने बताए।

मास्क उत्पादन भएपछि वितरणको लागि काठमाडौंलगायतका चेम्बरका प्रत्येक जिल्ला शाखामा मास्क पठाइनेछ। मास्क वितरणमा चेम्बरको ठूलो भूमिका हुने मल्होत्राले बताए।

कोरोना भाइरस नियन्त्रण र त्यसबाट बच्न मास्कको मुख्य भूमिका हुने भएपछि बजारमा यसको अभाव हुन थालेको थियो। कतिपय व्यवसायीले कालोबजारी गरेर मास्क लुकाउन थालेपछि उक्त समस्या समाधान गर्न मास्क उत्पादन गर्न लागिएको मल्होत्राले दाबी गरे।

तपाईको प्रतिक्रिया