Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – भारतले विभिन्न २६ प्रकारको औषधी निर्यात रोकेको छ । कारोनाको सम्भावित असरलाई ध्यानमा राख्दै भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ती औषधी निर्यात रोकेको हो ।

महानिर्देशनालयले एचएस कोड च्याप्टर २९ तथा ३० मा रहेका २६ प्रकारका औषधी निर्यात ‘फ्रि’बाट ‘रेस्ट्रिक्टेड’ बनाएको हो । ती औषधीहरू पारासिटामोटल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन आदि हुन् । महानिर्देशनालयले मंगलबार जारी गरेको सूचनामा अर्गानिक केमिकल तथा फर्मास्युटिकलको निर्यात रोकेको बताइएको छ ।

भारतीय औषधि उत्पादक कम्पनी ७० प्रतिशत एपीआई भनिने कच्चापदार्थको आयातका लागि चीनसँग निर्भर छन् । चीनबाट आयात रोकिएपछि भारतले यस्तो निर्णय गरेको हो । पारासिटामोल लगायत औषधि निर्यातमा प्रतिबन्ध लगाउनुअघि भारतले उच्चस्तरीय समिति बनाएर चीनबाट आयात हुने अत्यावश्यक औषधिको सूची तयार पार्न लगाएको थियो ।

यी हुन् भारतले निर्यात रोकेका औषधी
पारासिटामोल, टाइनिडाजोल, मेट्रोनाइडाजोल, एकिक्लोभिर, भिटामिन बी१, भिटामिन बी६, भिटामिन बी१२, प्रोजेस्टेरोन, क्लोरामफेनिकोल, एरिथ्रोमाइसिन साल्ट, नियोमाइसिन, क्लिन्डामाइसिन साल्ट, ओर्निडाजोल र यी औषधीबाट फर्मुलेट भएका अरु १३ प्रकारका औषधी रहेका छन् । भारतले अर्को सूचना जारी नभएसम्मका लागि औषधीहरुको कच्चा पदार्थको निर्यात पनि रोकेको छ ।

सकिन थाल्यो औषधि
कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ । नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन् ।
‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए ।

व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन् । तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन । औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन् । पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औषधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आश्रित छन् । ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ । नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन् ।

‘औषधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन् ।’ कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन् । यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको छ ।

यही कारण कच्चापदार्थको मूल्य बढ्न थालेको छ । कच्चापदार्थ आयात ठप्प भएको एक महिना बित्न लागेको छ । कच्चापदार्थ अभाव भए औषधिको मूल्य पनि बढ्ने व्यवसायी बताउँछन् । अत्यधिक गर्मी क्षेत्रमा पनि भाइरसको प्रकोप बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले कहिलेसम्म नियन्त्रण गर्न सकिन्छ भन्ने पूर्वानुमान गर्नै नसकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया