आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा प्रयोग गरिने सम्बोधनप्रति फेरि असन्तुष्टि जनाएका छन्।

मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकोमा असन्तुष्टि जनाएका हुन्।

सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफू अपमानित भएको ठान्ने गरेको बताए। नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको बताए।

‘सञ्चारमाध्यमबाट हामी छापिएको हेर्छौं। हाम्रो आफ्नो भाषा छ। भाषाको मर्म छ। हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ। हाम्रा सञ्चारमाध्यमलाई हजुर भन्दा साह्रै सानो ठान्छन्। हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपी गरेर बोलाउन पाउँदा राम्रो लाग्छ।

प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाए। नेपाली भाषामा बच्चालाई तँ भनिने, हुर्किँदै गएपछि तिमी र आफूभन्दा ठूला तथा दौतरीहरुलाई तपाई भनेर भनिने उल्लेख गर्दै ओलीले भने, ‘तपाईँ भन्ने शब्द आदरार्थी शब्द व्यवहार त्यो समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ। अंग्रेजीमा यू भनेपछि पुग्छ। बीबीसीले पहिले सुरु गरयो। यसो भने, यसो भनिन्। हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन्। भन्नुभयो भन्न आउँदैन। अनि त्यही कपी गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’

उनले नेपाली सभ्यता र संस्कृति माथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको बताए। लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको उनको आरोप थियो ।***

तपाईको प्रतिक्रिया