शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – नेपाल-जापान द्वीपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।

बैठकमा जापानी विदेशमन्त्रालयका दक्षिणपूर्वी एशिया र दक्षिण पश्चिमी एशियाका महानिर्देशक हिरोशी इसिकावा नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आएको थियो। बैठकमा उनले जापानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रालयका उत्तरीपूर्वी एशिया हेर्ने सहसचिब कालीप्रसाद पोखरेलले गरेका थिए ।
परराष्ट्रमन्त्रालयका अनुसार बैठकमा नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धका सबै आयामहरुका बारेमा छलफल भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले संयन्त्रको बैठक हरेक वर्ष हुँदै आएको बताए । उनले भने – ‘यो पटक काठमाडौंमा भयो, अर्को पटक जापानमा हुन्छ। यो बैठकमा द्वीपक्षीय सम्बन्धका सबै विषयमा छलफल हुन्छ।’
परारष्ट्रले जारी गरेको विज्ञप्तिअनुसार नेपाल र जापानबीच जनस्तरमा सम्बन्ध बढाउने विषयमा विशेष छलफल भएको छ। यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा साझा धारणा बनाउने विषयमा पनि संयन्त्रमा छलफल भएको छ।बैठकमा उच्चस्तरीय भ्रमण आदानप्रदान, अनुभव आदानप्रदान गर्ने विषयमासमेत चर्चा भएको थियो।

नेपाल र जापानबीच घनिष्ठ सम्बन्ध रहेको भन्दै यो सम्बन्धलाई अझ उचाइमा पुरयाउन दुबै पक्ष सहमत भएका छन् । नेपाल र जापानबीच आपसी सहयोगका क्षेत्रहरुको पहिचान र त्यसको कार्यान्वयनका विषयमा पनि छलफल भएको छ। ***

तपाईको प्रतिक्रिया