शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – तात्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर बनेको सत्तारुढ दल नेकपाको जापानस्थित भात्तृसंगठन प्रवासी नेपाली एकता मञ्चको अध्यक्षको जिम्मेवारी हवलचन्द्र लामाले पाएका छन् । लामा तात्कालिन माओबादी केन्द्रको भात्तृसंगठन नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष थिए । यसैगरी सचिवको जिम्मेवारीमा तात्कालिन एमालेको भात्तृसंगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) का शालिकराम भण्डारीलाई दिइएको छ ।

माउपार्टीहरु एक भएको झण्डै २ वर्षपछि जापान प्रवास कमिटीले नेतृत्व पाएको हो । माउपार्टीभित्रै केन्द्रदेखि तल्लो इकाईसम्म भावनात्मकरुपमा एकता भईनसकेको र पूर्वसमूह एवं उपसमूहबीचको झिनाझम्टीको बाछिता जापानसम्म आईपुग्दा नेतृत्व चयनको बिषयले लामो समय लिएको र पेचिलो बन्दै गएको थियो ।

नेकपाको प्रवास समन्वय कमिटीद्वारा प्रेषित विज्ञप्तीका अनुसार प्रवास कमिटीको अन्य सदस्यहरुमा तात्कालिन दूवै समूहबाट करीव बराबर संख्यामा रहेका छन् । जसअनुसार सिध्दार्थ श्रेष्ठ, राजकुमार पण्डित, राजेन्द्र श्रेष्ठ, परशुराम बस्नेत, बिकास पौडेल, पशुपति गिरी, मोहनसिंह रायमाझी, कुलचन्द्र खरेल, सुरेश केसी, अनु थापा, अशोकचन्द्र भण्डारी, बाबुराम भण्डारी, महेन्द्र अधिकारी, गम्भीरजंग बस्नेत, तुलसी पाठक र हरि लामिछाने गरी १६ जना तात्कालिन ओएनएफ पंत्तिबाट सदस्यमा चयन भएका छन् भने यसैगरी तात्कालिन जनप्रगतिशील मञ्च पंक्तिबाट बेलुकाजी थापा, हर्क थापा, भवानी पन्त, अरुण श्रेष्ठ, मोहन पौडेल, श्यामहरि पाण्डे, बाबुराम पौडेल, जनक सुबेदी, श्रवण सत्याल, रामकृष्ण भण्डारी, विशेश्वर रेग्मी, कालिका थापा, रोजिना मोक्तान, नरबहादुर थापा, दावा शेर्पा, अर्जुन ढकाल र बिनुका खड्का गरी १७ जना सदस्यमा चयन भएका छन् ।

सदस्यमा मनोनित भएकाहरु मध्य केही नेपाल फर्किसकेका ब्यक्तिहरु पनि परेको बताईन्छ । उसो त विज्ञप्तीमा उल्लिखित सदस्यहरुको कुनै हेरफेर गर्नुपरेमा सम्बन्धित क्षेत्रको इञ्चार्जको सिफारिसमा प्रवास समन्वय कमिटीले हेरफेर गर्न सकिने बताईएको छ ।

प्रवास समन्वय कमिटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ – ’नेपालको हरेक राजनैतिक परिवर्तनमा प्रवासी नेपाली र प्रवासमा रहेका संगठनहरुको महत्वपूर्ण भूमिका रहँदै आएको सन्दर्भमा सिंगो प्रवास क्षेत्रलाई प्रवासी नेपाली एकता मञ्चमा गोलबन्द गरी नेपालको बिकास र समृद्धिमा ठोस योगदान पुग्ने बिश्वास लिएका छौं ।’

लामो समयसम्म करीव अन्यौलमा रहेको प्रवास कमिटीको ढिलै भएपनि भएको फर्मेशनले जापानमा रहेका नेकपा कार्यकर्ता पंत्तिमा उत्साहको सञ्चार गरेको बताईन्छ । प्रवासमा बसेर राजनीतिमा सक्रिय हुनु आफैमा नराम्रो नहोला तथापि सम्बन्धित देशको नियम कानूनको पनि पालना गर्नु अपरिहार्य मानिन्छ । जापानमा विदेशीहरुले राजनैतिक संगठनमा आबध्द भई खुलमखुल्ला राजनैतिक गतिविधि गर्न वर्जित छ । यसबारेमा पछिल्ला समयमा जापानका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले निकै चासो राख्न थालेका छन् । उनीहरु भन्छन् – ‘सामान्यतयाः नेपाल बाहेक अन्य मुलुकबाट आएका विदेशी समुदायमा अनेकन संघसंस्थामा आबध्द भई विभिन्न गतिविधि गरेको पाईदैन ।’ ***

तपाईको प्रतिक्रिया