मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडाैं – ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताएका छन् ।  मन्त्री पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गरे ।

जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको उनको भनाइ थियो । जनयुद्धबाट आएका नेताहरू उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्ध कसरी गलत भयो? भन्ने प्रश्न गरे । उनले जनयुद्धबाट स्थापित नेतृत्व स्वीकार गर्नेहरूले गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरूलाई अस्वीकार गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनको प्रथम साधारणसभालाई शनिबार नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उद्घाटन गर्दै नेकपा स्थायी समिति सदस्य पुनले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरे । मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने दाबी गरे ।

मन्त्री पुनले आफूहरू संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै सहिदहरूको सपना बाँचेकाहरूले पूरा गर्नुपर्नेमा जोड दिए । आफ्नो पार्टी र सरकार जनयुद्ध तथा त्यसअघि र पछि भएका आन्दोलनका सहिदहरूका सपना साकार पार्न सक्रिय र प्रतिबद्ध रहेको पनि उल्लेख गरे । उनले सहिदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया