मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

’खोसेको रोटीले मेरो पेट भरिन्न.. मागेको धोतीले मेरो लाज छोपिन्न’ गायक गोपाल योञ्जनले गाएको यो गीत सुनिरहँदा हिजो आज पंक्तिकारलाई यस्तो लाग्छ कि, अब नेपालका हर मन्त्रालयहरुमा राष्ट्रगान नबजाएर योञ्जनका यिनै गीत हरेक बिहानी सरकारी कार्यालयहरुमा बजाइनुपर्छ । मन्त्रालयहरुमा बजाइनुपर्छ । गाँउ-गाँउ, टोल-टोल र बस्ती-बस्तीमा, नेताहरुका निवास र घरहरुमा बजाइनुपर्छ । मरिसकेको आशा अनि निर्जिव मस्तिष्कहरु जगाइनुपर्छ । सबै मिलेर देशमा यस्तै यस्तै अभियान चलाइनुपर्छ । युवा बेच्ने अभियान रोकिनुपर्छ ।

पंक्तिकारले केहि बर्षदेखि जापानको उच्चतम बिकास र परियोजनालाई अवलोकन गर्दैगर्दा अनि नेपाली नेताहरुले भन्ने गरेका ’बिकास र परिवर्तन कुनै जादुको छडी होईन कि छुमन्तरमा परिवर्तन हुनको लागि’ यस्ता भन्ने गरिएका टुक्का र उखानहरु आज २१ सौं शताब्दीको यो विज्ञान र प्रविधिको युगमा आएर या पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने यो युगमा पनि द्रुततर बिकासको अवधारणालाई भाषणको रुपमा मात्रै फलाकिरहनु, उखानटुक्का कै रुपमा बुझिरहनुले पनि देश कुन युगमा छ या हामी कुन शताब्दीमा घिस्रिरहेका छौं भन्ने यकिन गर्न सकिन्छ ।

चौबिस घण्टे बिकासको यो गतिलाई करीव पाँच बर्षदेखि नजिकै रहेर नियालिरहँदा या भनौ हिजो बिहान मात्रै देखिएको भत्किएको त्यो सडक भोलि बिहान त्यही बाटो जाँदैगर्दा पूर्णरुपमा निर्माण सम्पन्न भएको देख्न सकिन्छ । हामी भने यतिबेलासम्म पनि ढुंगेयुगतिरै छौं कि जस्तो आभास हुनु स्वभाविकै हो । दन्त्यकथा जस्तो लाग्ने बिकासका चरमसीमा आफ्नै आँखा अगाडि भोगिरहँदा देशको राजनीति र नेताहरुप्रति एक किसिमको वितृष्णा र घृणा युवाहरुमा उत्पन्न हुनु स्वभाविकै हो ।

यतिबेला फेरि एकपटक तिनै जापान कानुन अध्ययन केन्द्रका प्रोफेसर डा. हारामितोको त्यहि कुराको स्मरण गराउन चाहान्छु । उहाँ अध्यापनको क्रममा भन्नुहुन्थ्यो – ‘तपाईहरु अध्ययनका क्रममा देश छोडेर परदेशिनु भएको छ । मान्छे परदेश जानुपर्छ, अध्ययन गर्नुपर्छ, केहि नयाँ र नौलो सिक्नुपर्छ, जान्नुपर्छ अनि पैसा कमाएर बिदेशमै बरालिने होईन नयाँ ज्ञान, सीप लिएर आफ्नै देश फर्कनुपर्छ है !’

देश तब सम्पन्न हुन्छ, जब तपाईले सिकेको सहि ज्ञान नयाँ ठाउँमा प्रयोग हुन्छ । तपाइको ठाउँका लागि यहाँ सिकेका हरेक ज्ञान, सीप बिलकुल नयाँ हुन सक्छ जसले तपाईको र देशकै आर्थिक बिकासमा इटा थप्न सक्छ । यो भिडमा नहराउनुस् है ! आफ्नै देश बनाउनुपर्छ ।

तर विडम्वना हाम्रो देशका नेताहरु भने अझैं पनि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं अवस्थामा देखिन्छन् । उनीहरुले व्यक्तिगत स्वार्थका लागि लाखौं युवाहरुको इमानमाथि होली खेल्दै देशबिकासको दीर्घकालिन योजना बनाउनै सकेनन् या बनाएर पनि सफल गर्नै सकेनन् । गरे त बस् पपुलरिज्मको नाममा आफन्त, नातागोता, चन्दादाता भाइभतिजा, सालासाली, नाताकुटुम्ब, मावली, ससुरालीका उदघाटन, रिवन काट्ने, निरिक्षण लगायत अवलोकन भ्रमणका नाममा प्रजातन्त्र पश्चातका कैंयौ अमूल्य बर्षहरु ब्यतित गरिए । परिवार बनाए, घर बनाए, आफन्त बनाए न उद्योग थियो नत व्यवसाय नै छ उनीहरुको ।

यतिबेला देश नांगिईसकेको छ, उदाङ्गो हुनेगरी आर्थिक रुपले युवाहरु देशमा देखिनै छोडिसकेका छन् । हिजोआज, दोस्रो देशबाट मजदुर ल्याउने देशको हैसियत पनि छैन । न त बिकासका त्यस्ता असीमित कार्यहरु नै भईरहेका छन् । संसारका थोरै देशहरु मध्य क्षेत्रफलका हिसाबले सानो तर ठूलो युवा शक्ति भएको देश हो हाम्रो, तर सँधै पराईकै बारी खनेरै जिविका कहिलेसम्म चलाईरहने हो हाम्रो अनिश्चितता छ, अन्यौल छ बर्षौ देखि किन ?

युवाको मानहानी भएको मुलुक हो नेपाल । सक्षम र वौद्धिक युवाहरुलाई छिमेकीले डलरको या ठूलो धनराशीको लोभ देखाएर बिकसित मुलुकहरुमा लिएर जान्छ, बर्षेनी तर देशका यस्ता वौद्धिक बर्गलाई पराईले चिनिरहँदा या उसको मस्तिष्कको प्रयोग गर्दै बिदेशीहरु शिखर चुमिरहँदा हाम्रा नेताहरुले युवाहरुलाई त्यसबेला मात्र सदुपयोग ठान्दछन् या चिन्ने गर्छन् जब चुनाव आउँछ ।

संसारका राम्रा मानिएका केहि मुलुकहरु पनि केहि दशकमा शिखर चुमेका इतिहास जिउँदै छन् । सिंगापुर, दुवई, मलेशिया जस्ता देशहरु पनि हाम्रा जस्तै थिए पहिले । तर हाम्रो मुलुक या यस मुलुकलाई नेतृत्व गर्ने पादरीहरु भने आजसम्म पनि संसारका यस्ता मुलुकका खोजीमा छन् जुन देशले नेपाली युवाहरुलाई किनिदेओस् श्रम सम्झौता गरिदेओस् या भनौ तिनै युवाले बैदेशिक रोजगारबाट पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानोस् या नेताका बंगला फेरियून्, महल, घर, गाडी फेरियून् सबका सब फेरियोस् ।

हिजो कुनै बेला नेपालबाट सहयोग पठाएको मुलुकमा आज हाम्रै युवाहरु रोजगार सम्झौतामा हस्ताक्षर गर्दै मजदुरीको नाममा कृषि, बंगुरपालन, उद्योगमा पठाइनु या जान पाउनुलाई भाग्यमानी ठान्ने हामी युवाहरुलाई किन त राज्यले आजको शताब्दीसम्म पनि रोगगार भिसाको सहमति गर्दै हिडिरहेको छ ?

के अरु देशकै रोजगारी भर परेरै देश बिकसित र सम्पन्न होला त ? नेतृत्वले राम्रो गर्ने बहानामा देशका सारा सक्षम युवाहरुलाई मित्रराष्ट्र तथा अन्य देशहरुमा रोजगारीको नाममा पठाउनु देशका लागि दीर्घकालिन गद्दारी होईन र ? दुनियाँले आफ्नो देश बनाईरहेको या बनाईसकेको यो शताब्दीमा हामी भने देशमा भएका युवाहरु रोजगारको नाममा धमाधम बिदेशतिर बेचिरहेका छौं । अनि सरकार पनि दोस्रो राष्ट्रसंग श्रम सम्झौता गर्नुलाई बहादुरी र पुरुषार्थ सम्झदै छ ।

हिजो खाडी मुलुकसंग श्रम सम्झौता गरेरै लाखौ युवाहरु विक्री भईसकेको यो अवस्थामा पुनः बिकसित मुलुकहरुसंग श्रम सम्झौता गरेर किन बर्षेनी युवा लखेटिरहेको छ त सरकार ? यो वा त्यो नाममा जुनसुकै देशसंग रोजगारी सम्झौता गरेर देशका युवाहरु बेचिनु हुन्न या पलायन गराउनु हुँदैन । यस्ता सम्झौताले क्षणिक ’पिसावको न्यानो’ त होला तर दीर्घकालिन रुपमा देश गरिव बन्ने पक्का छ । छोरालाई पराईको धर्मपुत्र बनाएर बाबुको रेखदेख गरेन भन्नु न्याय संगत होला त ? ****

चिबा, जापान

तपाईको प्रतिक्रिया