काठमाडौं – अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ) को छनोट खेल खेल्न नेपाल आएका अस्ट्रेलियाली जुनियर टेनिसका एक उदीयमान खेलाडीको मृत्यु भएको छ ।
सातदोबाटोस्थित नेपाल लन टेनिस संघको कोर्टमा बुधबार अभ्यासका क्रममा १५ वर्षीय केन्ट यामाजाकीको मृत्यु भएको हो । अखिल नेपाल टेनिस संघका कोषाध्यक्ष सञ्जय आमात्यले उनको मृत्यु भएको पुष्टि गरेका छन् । ‘कोर्टमा ढलेपछि उनलाई सातदोबाटोस्थित बीएन्डबी अस्पताल लगिएको थियो । अस्पतालमै उनको मृत्यु भयो अमात्यले जानकारी दिए ।
सोमबारबाट शुरु हुने आइटीएफ छनोट खेल्न उनी आफ्ना बुबासँगै नेपाल आएका थिए । बुधबार साढे १ बजे उनी टेनिस कोर्ट पुगेका थिए । केहीबेर उनी र उनका बुबाले त्यहाँ उपस्थित नेपाली प्रशिक्षक राजकुमार लामा र अन्य खेलाडीहरुसँग कुरा गरें । लगत्तै यामाजाकी कोर्ट छिरे ।
‘हामी खेलिरहेका थियौ । टेनिसमा भली भन्ने स्ट्रोक हुन्छ । यामाजाकी भली हान्न नेटमा आए,’ नेपाली खेलाडी प्रेरणा कोइरालाले दुर्घटनाबारे सुनाइन्, ‘तर, उनले बल मिस गरे । म बल समात्न जाँदा उनी आधा लडिसकेका थिए । उनले घुँडामा पनि ब्यान्ड गरेका थिएनन् । उनको र्याकेट खस्यो । उनी ब्ल्याक आउट हुँदै गए । अनि टाउको सीधै ग्राउन्डमा ठोक्कियो ।’
लगत्तै कोइरालाले नजिकै रहेका प्रशिक्षकलाई बोलाइन् । प्रशिक्षक लामा र उनका बुबा दौडेर कोर्टमा आए । उसको बुबाले एम्बुलेन्स बोलाई दिन आग्रह गरे । ‘एम्बुलेन्स पर्खिंदा १०-१२ मिनेट ढिलो भयो । तत्कालै लगेको भए सायद उनी बाँच्थे कि !’, कोइरालाले भनिन् । अस्पताल पु-याएपछि एक-डेढ घण्टा डाक्टरले प्रयास गरे पनि । केहि समयपछि डाक्टरले मृत्त घोषित गरेको प्रशिक्षक राजकुमार लामाले जानकारी दिए ।
अस्ट्रेलियाका यामाजाकी उदाउँदा टेनिस खेलाडी थिए । कतिपयले उनलाई ‘विलक्षण प्रतिभा’ का रुपमा चित्रित गरेका छन् । आफ्नो उमेर समूहका सम्पूर्ण अस्ट्रेलियाली खेलाडीमध्ये शीर्ष ७ मा थिएन उनी । उनका बुबा टोमियो र आमा किमियो छोराका हरेक प्रतियोगिता तथा अभ्यासमा सँगै हुन्थे ।