पोखरा – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कुटपिट गरेका हुन् । गुरुङ प्रतियोगिता उदघाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले हातपात गरेका थिए ।
एन्फा कास्कीका अध्यक्ष गुरुङका अनुसार मनाङबाट आएको टिमलाई अघिल्लो दिन मंगलबारबाट मात्र होटलमा राख्ने व्यवस्था मिलाइएको थियो । ‘उहाँको टिमलाई ५/६ दिन अगाडिको भत्ता दिनुपर्यो भनेर विवाद गर्नु आउनुभयो तर हामी नियमअनुसार बाहिर जानसक्ने भएन । त्यसो भन्दा ममाथि हातपात भएको हो’ गुरुङले भने । प्रमुख अतिथि आउनै लागेको र कार्यक्रम भाँडिने भएकाले आफू संयमित भएको उनले सुनाए ।
प्रदेशसभा सदस्य मनाङ्गेले पनि झापड हानेको स्वीकार गरे । तर व्यवस्थापनप्रति असन्तुष्टि जनाए । सहभागी टिमलाई खबर नै नगरी अन्तिम समयमा प्रतियोगिताको मिति सारेको, मनाङबाट आएको टिमलाई बस्ने व्यवस्था समेत नमिलाएको भन्दै उनले भने, ‘८/९ घन्टा हिँडेर आएको खेलाडीहरुसंग जोक गर्ने ?’
एन्फा मनाङका अध्यक्ष निरज गुरुङले पनि प्रतियोगिताको व्यवस्थापन राम्रो नभएको गुनासो गरे ।
प्रदेश सरकारको आर्थिक सहयोगमा मुख्यमन्त्री कप प्रतियोगिता लेखनाथको भण्डारढिकमा सुरु भएको छ । तर सहभागी टिमलाई बस्ने खाने तथा अभ्यास गर्ने उचित व्यवस्था नै नगरिएको एन्फा मनाङका अध्यक्ष गुरुङले जानकारी दिए ।
तथापि जननिर्वाचित जनप्रतिनिधिले सार्बजनिक स्थलमै त्यसरी गुण्डागर्दी शैलीमा हातपात गर्नुले आम जनमानसमा कस्तो सन्देश प्रवाह गर्ला ? राज्यले के हेरेर बसेको छ ? पाखुरा हुनेले जसले जे मनलाग्दी गरे पनि हुने हो ? के यसैका लागि गणतन्त्र ल्याएको हो ? कस्केली जनताहरु यो गम्भीर चिन्ताको बिषय भएको बताउंछन् । ***