काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आइतबार भएका खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले जीत हात पार्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युवा क्लब पराजित भएका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा एनआरटीले एपीएफलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २४ औं मिनेटमा एनआरटीका आन्द्रे थेरीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए भने ४१ औं मिनेटमा एपीएफका आशिष लामाले एक गोल फर्काउँदै खेल बराबरीमा पुर्याएका थिए । एनआरटी र एपीएफबीचको खेल पहिलो हाफमा १-१ गोल बराबरी रहेको थियो । तर, दोस्रो हाफको ८ औं अर्थात ५३ औं मिनेटमा लामाले टीमका लागि दोस्रो गोल गर्दै एनआरटीविरुद्ध २-१ गोलको अग्रता बनाएको थियो ।
तर, खेलको ८० औं मिनेटमा एपीएफका विरेन्द्र प्रकाश यादवले आत्मघाती गोल गर्दा एनआरटीले पाएको उपहार गोलमा खेल २-२ गोल बराबरी भएको थियो । त्यसको ५ मिनेटमपछि एनआरटीका दर्शन गुरुङले गोल गर्दै टिमलाई ३-२ को महत्वपूर्ण जित दिलाएका हुन् । ७ खेलमा ४ जित १ बराबरी र २ हार व्येहोरेको एनआरटी लिगको पाँचौ स्थानमा उक्लिएको छ । लिगमा १३ अंक पाएपनि अघिल्लो बर्ष पुछारमा रहेको एनआरटीले २ अंक घटुवा भएको हो ।
योसँगै लिग थ्रीस्टार क्लब, एनआरटी र नेपाल पुलिस क्लबको ११ अंक छ । तर, यी टोली क्रमश : चौथो, पाँचौ र छैठौं स्थानमा छ । पराजित एपीएफ ७ खेलमा ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । यता, दोस्रो खेलमा फ्रेन्ड्सले सरस्वतीविरुद्ध ४-१ गोलको शानदार जित हात पारेको छ । फ्रेन्ड्सका लागि उत्तम राईले २ गोल गर्दा साउलो डि अक्वाइनो र वाग्नर डि कार्मोले एक-एक गोल गरे ।
सरस्वतीविरुद्ध खेलको ५ औं मिनेटमा उत्तम राईले गोल गर्दै टिमलाई १-० अग्रता दिलाएका थिए भने साउलो डि अक्वाइनोले २४ औं मिनेटमा, वाग्नरले ७० औं मिनेटमा र उत्तम राईले व्यक्तिगत दोस्रो गोल ८६ औं मिनेटमा गरेका थिए भने फ्रेन्ड्स क्लबविरुद्ध सरस्वतीका कजेम अदेगोके बुसारीले ८० औं मिनेटमा एक गोल फर्काएका थिए ।
जितसँगै फ्रेन्ड्स ८ अंकसहित ९ औं स्थानमा उक्लिँदा पराजित सरस्वतीले जीत विहीन पुछारमा रहेको छ । लिगको शीर्ष स्थानमा ६ खेलबाट १३ अंक जोडेको नेपाल आर्मी क्लब छ भने मछिन्द्र क्लब र मनाङको समान ७-७ खेलबाट १३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।