बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

पोखरा – पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका-१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा जीप चालक पोखरा-२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पृथ्वी चोकबाट चाउथेतर्फ जाँदै गरेको ग २ च २७२६ नम्बरको जीप अनियन्त्रित भई ग १६ प ९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ९४०५ नम्बरको बससँग ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा उपचार गर्दागर्दै दुबै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिए ।

दुर्घटनामा जीपमा सवार पोखरा-२९ भण्डारढिक बस्ने ३४ वर्षीय प्रेम परियार र पोखरा-३१ बस्ने २३ वर्षीय दिलबहादुर परियार घाइते भएकामा उनीहरुको उपचार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया