बागलुङ – रोजगारीको सिलसिलामा अहिले धेरै युवा विदेशमा छन । पछिल्लो समय रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । हुन त अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत सँगै युरोप र खाडी मुलुकमा समेत युवाहरुको जमात उत्तिकै छ । विदेशमा रहेपनि आम नेपालीको मन गाउँघरमै छ । युवाहरु आफ्नो कमाईको केहि अंश गाउँ समाजमा लगानी गरिरहेका छन ।
कला र गला हुनेहरु विदेशमा रहे पनि नेपाली कला संस्कृतिलाई जगेर्ना गर्न लागि परिरहेका थुप्रै उदाहरण छन । यसै मध्यका एक हस्ती हुन गलकोट नगरपालिका ७ मल्मका कुलबिर थापा । सानै देखि गाउँमा छँदा उनले सामाजिक अभियानमा लागे । सामाजिक संघ संस्थामा विभिन्न पदमा रहेर सक्रियतापूर्वक भूमिका निर्वाह गरे । देशमा रोजगारीको वातावरण नभएको कारण उनी १० वर्ष पहिले जापान प्रवेश गरे । विदेशमा गएपछि उनले गाउँ समाजमा विभिन्न संघ संस्था र मेला महोत्सव अनि कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आईरहेका छन ।
अहिले उनी आफ्नो रोजगार सँगै सांगीतिक क्षेत्रमा पनि प्रवेश गरेका छन । केहि वर्ष पहिले देखि उनले बजारमा आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका छन । ४/५ वटा गीति एल्वम बजारमा ल्याएका गायक थापाले मोडलिङमा पनि भूमिका निर्वाह गरेका छन । जापानमा हुने विभिन्न कार्यक्रममा उनले आफ्नो सांगीतिक प्रस्तुति दिदै आईरहेका छन । आफ्नो कामलाई समयको व्यवस्थापन गरेर आफु विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुत हुने गरेको उनले बताए । यसपटक छुट्टीमा उनी नेपाल आएका थिए । उनको २ महिने बसाईमा धेरै कार्यक्रमहरुमा उनलाई निमन्त्रणा गरियो । गलकोट नगरपालिका सँगै ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका विभिन्न कार्यक्रममा उनले दर्शक श्रोतालाई मज्जाले नचाए । गत मंसिरमा सम्पन्न दोस्रो गलकोट घुम्टे महोत्सवमा पनि उनले आफनो सांगीतिक प्रस्तुति प्रस्तुत गरे । छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाएका उनी एक युवा समाजसेवी व्यक्तित्व पनि हुन ।
गाउँमा रहँदा समाजसेवामा समर्पित भएर भूमिका निर्वाह गरेका उनले अहिले जापानमा पनि विभिन्न संघ संस्थामा आवद्व रहेका छन । गलकोट समाज जापान ओसाकाका उनी वरिष्ठ उपाध्यक्ष छन भने सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखामा पनि उनी उपाध्यक्षको रुपमा कार्यरत छन । सामाजिक संस्थामा रहेर सामाजिक गतिविधि र सामाजिक जागरण अभियानमा उनको सक्रियता पनि उत्तिकै छ । अहिले विदेशमा रहेर पनि उनले गलकोट नगरपालिका वडा नं ७ का विभिन्न संघ संस्था र गाउँ समाजको विकासको निम्ति आफनो क्षेत्रबाट सक्दो सहयोग गर्दै आईरहेको जानकारी दिए । गाउँ समाज र देश निर्माण गर्ने जिम्मा युवाहरुको हो । त्यसैले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर समाजिक स्वार्थमा हामी प्रेरित हुन जरुरी छ । समाज र देशको समृद्विमा युवा जमात यसै गरि अगाडी बढन सके समृद्व समाज बनाउनमा ठूलो भूमिका रहने छ ।***