आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाली र चिनियाँ लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले साउदी अरबको रियाद शहरमा उडान गर्ने तयारी गरेको छ । हिमालय एयरलाइन्सले साउदी अरबको दमाममा उडान गर्दै आएको छ । अब रियादमा पनि उडान गर्न तयारी गरेको हो ।

यसको अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । भारतको नयाँ दिल्ली उडानको अनुमति नपाएपछि पछिल्लो समय हिमालयले नयाँ गन्तव्यमा उडान गर्न थालेको छ । केही महिना अघिमात्रै बंगलादेशको ढाँका उडान सुरु गरेको हिमालयले लक्ष्मी पूजाको दिनदेखि चीनको राजधानी बेइजिङमा साताको तीन उडान गर्दै आएको छ ।

झण्डै १३ वर्षपछि चीन प्रवेश गरेको नेपाली विमान कम्पनी हिमालयले बेइजिङमा ‘फुल अकुपेन्सी’मा उडान गरिरहेको जनाएको छ । अब हिमालयले चीनकै छाङसार, नान्चाङ र ग्वायाङमा उडान विस्तार गर्ने तयारी गरेको छ । सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको अबुदाबी, दुबई, बंगलादेशको ढाँका, चीनको बेइजिङ र कतारको दोहामा उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया