मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडाैं – काठमाडौं-ओसाका उडान अपेक्षा गरिए अनुरूप सफल हुन नसकेपछि नेपाल वायुसेवा निगमले जापानकै अर्को शहर नारितामा उडान गर्ने तयारी तीव्र बनाएको छ । निगमको सन् २०२० को जनवरी (पुस दोस्रो साता)बाट नारितामा उडान शुरू गर्ने योजना छ ।

गत भदौ १२ गते देखि काठमाडौं-ओसाकामा उडान गरिरहेको निगमले सो रूटमा भने जस्तो यात्रु पाउन सकेको छैन । निगमले शुरूमा काठमाडौंबाट ओशाकास्थित कान्साइ अन्तरराष्ट्रिय विमानस्थलमा मंगलवार, बिहीवार र शनिवार गरी साताको तीनओटा उडान गर्ने तालिका बनाएको थियो । पछि यात्रु अभाव भएपछि साताको २ दिन मंगलवार र शनिवार मात्र ओशाकामा उडान गर्दै आएको छ ।

शुरूका दिनभन्दा हाल ओशाका उडानमा क्रमशः यात्रु संख्या बढ्दै गए पनि दीर्घकालका लागि नारिता राम्रो हुने भएकाले नारिताको तयारी गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेल बताउँछन् । व्यापारिक दृष्टिले ओसाकाभन्दा नारिता राम्रो भए पनि केही प्राविधिक कारणले शुरूमा नारिता नगई ओसाका उडान गरेको उनले बताए । अहिले ती सबै बाँकी काम सकेर नारितामा उडान अनुमति मागिएको र अनुमति प्राप्त भए नेपाल भ्रमण वर्षको शुरू हुँदा नारिता पनि उडान शुरू गरिने निगमको भनाइ छ ।

‘हामी पहिले नै नारिता जान चाहन्थ्यौं तर केही प्राविधिक कुरा मिलाउनु थियो । अहिले जापानको सिभिल एभिएशनले मागेको कागजातहरू बुझाइरहेका छौं । अनुमति पाउना साथ नारिता उडान शुरू हुनेछ,’ खरेलले भने । निगमले ओशाकामा उडान गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गर्दै नारिता उड्नुपर्ने विमान ओशाका किन उडाएको भन्दै प्रश्न गर्नु भएको थियो ।

ओसाका उडानलाई लिएर आलोचित हुन पुगेको निगमले नारितामा साताको ३ दिन उडान गर्ने अनुमति माग्ने प्रक्रिया अगाडि बढाएको छ । नारितामा उडान शुरू भएपछि ओशाका उडान बन्द गर्न सकिने निगमले बताएको छ । सन् १९९४ देखि ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै निगमले उडान स्थगन गरेको थियो ।  त्यतिखेर निगमले बोईङ मार्फत काठमाडौं-साङहाई-ओसाका उडान गर्ने गथ्र्याे । अहिले भने वाइड बडी ए-३३०-२०० बाट भने काठमाडौं-ओशाका सीधा उडान भइरहेको छ । –आर्थिक अभियानबाट

तपाईको प्रतिक्रिया