शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

सुर्खेत – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन सुर्खेतले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन् । “मन्त्रिपरिषद् परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो, उहाँको सहजताका लागि हो, उहाँले केही हेरफेर गर्न सक्नुहुन्छ”, उनले भने । पत्रकारको प्रश्नमा मन्त्री बस्नेतले मन्त्री परिवर्तनको विषय नयाँ नभएको र बाहिर आएजस्तो गरी मन्त्रिपरिषद् हेरफेरको चर्चा नभएको स्पष्ट पारे ।

मन्त्री बस्नेतले कर्णाली प्रदेशलाई विकासको राष्ट्रिय मूलप्रवाहमा सहभागी गराउने बताए । कर्णालीको विकासमा सबैको भूमिका आवश्यक भएको भन्दै मन्त्री बस्नेतले यो वर्ष आर्थिक, सामाजिक विकासको वर्ष हुने बताए । आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएकाले अब सबैतिर विकासले गति लिने बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण गरिने प्रादेशिक विमानस्थल जमीनको कारण नरोकिने भन्दै यसको काम छिट्टै सञ्चालन हुने उनले जानकारी दिए । सरकारले बाढीपीडितको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री बस्नेतले बाढीपीडितको समस्या समधान हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया