शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काबुल – अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ ।
देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत नै खस्नेगरी भएको उक्त विस्फोटमा अरु कैयौँ घाइते भएका छन् ।

उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी गर्नु भएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो । राष्ट्रसंघका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको संख्या ११ सय ७४ थियो ।

गत शुक्रबार प्रार्थना भइरहेका बेला विस्फोटन भएको बताइएको छ । उक्त विस्फोटन कसले गराएको भन्ने अझै स्पष्ट भएको छैन । तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट (आइएस) दुवै समूह सक्रिय छन् । घटनामा परी कम्तीमा ३३ जना घाइते भएका प्रान्तीय प्रवक्ता अट्टौल्लाह खोग्यानीले एएफपीलाई जानकारी दिनुभयो ।

प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा रहेको मस्जिदमा सो विस्फोटन भएको हो । प्रत्यक्षदर्शीहरूले मस्जिदको छत खस्नुअघि ठूलो आवाजसहितको विस्फोटनको आवाज सुनेको बताएका छन् । विस्फोटनका बेला ३५० भन्दा बढी व्यक्ति मस्जिदमा रहेका स्थानीय बासिन्दा ओमार घोर्जाङ्ले एएफपीसँग बताए ।

उनले विस्फोटनपछिको घटनामा परी केहीको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई एम्बुलेन्समा राखेर लगेको आफुहरुले देखेको जानकारी दिए । दर्दनाक घटनाप्रति संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्रा्ष्ट्रिय निकाय र विभिन्न देशहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले यस्ता विभत्स घटनाले कसैको पनि हित नहुने भएकाले यस्ता क्रियाकलाप रोक्न आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया