शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – म्यानमारको राजधानी यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ ।

प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गरेका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्तको योगदान भुल्न नसकिने उल्लेख गर्दै ती मूर्ति नेपाल म्यानमार दीगो सम्बन्धको  प्रतीक भएको बताए । उनले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यानमारबीच सम्बन्ध अझ प्रगाढ हुने बताए ।

बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त अझै सान्दर्भिक भएको बताउँदै नेपाल भ्रमण  वर्षमा नेपाल र खासगरी लुम्बिनी आउन म्यान्मालीलाई आग्रह गरे । प्रतिष्ठानका संस्थापक भिक्षु सायदले बुद्धले बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा बौद्धधर्मको प्रचारप्रसारका लागि बुद्ध जान नसकेका स्थानहरुमा बुद्धका मूर्ति लगिएको र ती मूर्तिका प्रतिकृति फिर्ता गरी पुनः नेपाललाई दिने काम भएको बताए । कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले बुद्धका ती मूर्ति लुम्बिनीस्थित  सङ्ग्रहालयमा संरक्षण गरी राखिने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया