आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – नेपाली विद्यार्थीहरूको एउटा प्रमुख गन्तव्य रहेको अस्ट्रेलियाले नेपालसँग सीधा हवाई उडान सुरु गर्न लागेको घोषणा गरेको छ । अस्ट्रेलियाका उपप्रधानमन्त्री तथा यातायतमन्त्री माइकल म्याकोरम्याकको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै दुई देशबीच भएको हवाई सेवासम्बन्धी सम्झौताअनुसार सीधा उडान सुरु गर्ने योजना अघि बढाइएको जनाएको हो ।

नेपालका वायुसेवा प्रदायकलाई पनि आफ्नो देशमा उडान गर्न दिने घोषणा अस्ट्रेलियाले गरेको छ । दुई देशबीचको सीधा हवाई सम्पर्कले पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा थप अवसरहरू निम्त्याउने अपेक्षा अस्ट्रेलियाको सरकारले गरेको छ । अस्ट्रेलियाका उपप्रधानमन्त्री म्याकोरम्याकले सीधा उडान गर्न सकिने क्षेत्रमा भए पनि प्रत्यक्ष हवाई सम्पर्क सञ्जालमा नजोडिएको अस्ट्रेलियाको सबैभन्दा ठूलो बजार नेपाल भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘यसले अस्ट्रेलियालीहरूलाई विश्वको अभूतपूर्व स्थानको भ्रमण गर्न सजिलो मात्र बनाउने छैन यसले हाम्रो हवाई उद्योग र निजी विमानसेवा प्रदायक साझेदारहरूलाई एउटा नयाँ बजार र अवसर उपलब्ध गराउनेछ ।’ उक्त सहमतिअनुसार अस्ट्रेलियाली वायुसेवाले काठमाण्डूमा हप्ताको सातवटासम्म सीधा उडान भर्न पाउनेछ । त्यसबाहेक नेपालमा रहेका अरू विमानस्थलमा उसले २८ वटासम्म उडान गर्न पाउने भनिएको छ । नेपाली विमानसेवाहरूले पनि त्यस्तै अवसर पाउनेछन् ।

उनीहरूले सिड्नी, मेल्बर्न, ब्रिस्बेन र पर्थमा एक हप्तामा सातवटासम्म उडान गर्न पाउने भनिएको छ । त्यसबाहेक अस्ट्रेलियाका अरू क्षेत्रीय विमानस्थलमा असीमित उडान गर्न सक्ने जनाइएको छ । क्यानडामा गत अगस्ट महिनामा भएको अन्तर्राष्ट्रिय उड्ययन प्राधिकरण आईकाओको महासभामा भाग लिन गएका नेपाली र अस्ट्रेलियाली अधिकारीहरूले यस विषयमा एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

तपाईको प्रतिक्रिया