आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – १० दिनको अबधिमा काठमाडौँ उपत्यकाबाट १० लाख यात्रु दसैंका लागि बाहिरिएका छन् । ५ देखि १४ असोजसम्म उपत्यकाका विभिन्न नाका हुँदै दसैँ, तिहार छठ पर्व मान्नका लागि १० लाख मानिस बाहिरिएका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार अहिले दैनिक करिब एक लाख २५ हजारका दरले उपत्यकाबाट मानिस बाहिरिने गरेका छन् । महाशाखाका अनुसार यस अबधिमा झण्डै सात लाख नागरिक उपत्यका भित्रिएका छन् । ६ लाख ९१ हजार ६ सय ४६ यात्रु काठमाडौँ उपत्यकामा भित्रिएका हुन् ।

लामो दूरीका साधनलाई नागढुंगाबाट ट्राफिक कम्युनिकेसन एप्समार्फत चालक परिवर्तन गरे नगरेको हेर्ने गरिएको छ । नागढुंगाबाट बाहिरिने हरेक गाडी र चालकको फोटो खिच्ने गरिएको छ । यस अबधिमा चालक परिवर्तन नगर्ने १५ वटा ठूला गाडीका चालकलाई कारबाही गरिएको ढकालले जानकारी दिए । यस अबधिमा क्षमताभन्दा बढी यात्रु बोक्ने ३८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

स्थानीय प्रशासनले सादा पोसाकका प्रहरी बसपार्क क्षेत्रमा परिचालन गरेर कालो बजारी भए नभएको अनुगमन गर्ने गरेको छ । दसैँका लागि यात्रुहरु बाहिरिने क्रम बढे पनि कुनै पनि नाकामा जामको समस्या भने नभएको ट्राफिक प्रहरीको दाबी छ । चाडपर्वमा यात्रा सहजताका लागि सरकारले १२ देखि १९ असोजसम्मका लागि बीपी राजमार्गबाहेक देशभरका गाडीको रुट परमिट खुला गरेको छ ।

तपाईको प्रतिक्रिया