मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – निर्माण व्यवसायीलाई धम्की दिएर रकम असुली गर्ने समिरमानसिंह बस्न्यात समूहसंग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापा रिहा भएका छन् ।

थापालाई काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहसमा एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले गरेको आदेशमा थापाको आपराधिक गिरोहसंग साँठगाँठ रहेको भन्ने आरोप प्रमाणित हुने आधार नभेटिएको अदातको उल्लेख छ । थापासँगै पक्राउ परेका अरु प्रतिवादीहरु पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र विनोद लामालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश आएको हो ।
थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गत साता पक्राउ गरेको थियो । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य अभियुक्त ठहर भई जेलमा रहेका गुण्डा नाइके समिरमानसिंह बस्न्यात समूहसँग गृहमन्त्रीका भाईको ‘कनेक्सन’ देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । बस्न्यातले जेलभित्रैबाट समूह परिचालन गरी २५ भन्दा बढी निर्माण व्यवसायीसँग मोटो रकम माग गर्दै धम्की दिएका थिए ।

सो समूहसँग थापाको भेटघाट र टेलिफोन कुराकानी भएको पाइएपछि शंकाको घेरामा तानिएका हुन् । थापाले बयानका क्रममा बस्न्यात समूहका शैलेश प्रजापति र विनोद लामालाई सिटी सेन्टरस्थित फुडकोर्टमा चिनेको र प्रजापति पक्राउ परेका बेला प्रहरीको कमलपोखरी वृत्तमा भेट्न गएको स्वीकार गरेका छन् । तर, बस्न्यातलाई भेट्न केन्द्रीय कारागार गएको भन्ने आरोप अस्वीकार गरेका छन । ***

तपाईको प्रतिक्रिया