आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । आजदेखि अमेरिकाको न्यूयोर्कस्थित संघको प्रधान कार्यालयमा महासभा सुरू हुँदै छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, यस पटकको महासभामा प्रधानमन्त्री ओली सहभागी नहुने पक्का भएको छ । उनको सट्टा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । प्रधानमन्त्री नजानुको कारण भने खुलाएको छैन । गत वर्ष प्रधानमन्त्री ओलीले नै स‌ंयुक्त राष्ट्रस‌ंघकाे महासभामा सम्बाेधन गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवाली महासभामा भाग लिन असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिवसहितको १२ सदस्यीय प्रतिनिधि मण्डल उच्चस्तरीय बैठकमा सहभागी हुनेछ। मन्त्री ज्ञवालीले असोज १३ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ ।  महासभाअन्तर्गत एकसातासम्म उच्चस्तरीय बैठक हुनेछन् जसमा विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, विकासोन्मुख साना टापू देशका प्राथमिकता सम्बोधन तथा तिनको प्रगतिको समीक्षा हुनेछ ।

तपाईको प्रतिक्रिया