काठमाडौं – कुनै बेला शोक बिर्साउन विभिन्न प्रहसन तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम गरेर गाईजात्रा गरिथ्यो । तर अहिलेको गाईजात्रा महोत्सवमा न त हाँस्न दर्शकको बाक्लो जमघट हुन्छ न त कलाकारबीच कसले बढी हँसाउने भन्ने प्रतिस्पर्धा नै चल्छ ।
तिथिअनुसार गाईजात्रा एक दिन पर्ने भए पनि नेपाली हास्य कलाकारहरूले यो जात्रा तीन दिनदेखि पाँच दिनसम्म मनाउँछन् । हास्य कलाकार मात्र नभएर अन्य विधाका कलाकार पनि व्यङ्ग्यात्मक गीत, नृत्य, अभिनयको प्रस्तुति दिँदै आउने गर्थे ।
पछिल्ला केही वर्षमा चर्चित हास्य कलाकार चलचित्र निर्माणमा होमिन थालेपछि गाईजात्राको रौनक अझै घटिरहेको छ । सधैँ गाईजात्राको कार्यक्रममा व्यस्त हुनुहुने हास्य कलाकार शिवहरि पौड्यालले यसपालि त्यस्तो कार्यक्रम नरहेको बताउनुभयो । उहाँले आफू नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त रहेको जानकारी दिनुभयो ।
शिवहरि मात्र होइन प्रख्यात हास्य जोडी दीपक–दीपा पनि चलचित्रमै व्यस्त रहनुहुनेछ । ‘छ माया छपक्कै’को छायाङ्कनमा व्यस्त भएको बताउँदै दीपाश्री निरौलाले भन्नुभयो – ‘यसपालि गाईजात्राकै दिन मात्र गाईजात्रा मनाउँछौँ ।’
राजधानीमा गाईजात्राको रौनक त्यति देखिएको छैन कलाकार गिरी, भन्नुहुन्छ – ‘हास्य विधाका कलाकारलाई गाईजात्राको निक्कै चटारो भइसक्थ्यो, अन्तिम रिहर्सल, पोसाक, शृङ्गार र सङ्गीतको चाँजोपाँजो मिलाउँदै हल, साउन्ड सिस्टम र टिकट बिक्रीजस्ता काममा सरिक भइसकेका हुन्थेँ तर काठमाडौँमा यसपालि त्यस्तो कुनै चहलपहल देखिँदैन ।’
विगतमा गाईजात्रा कार्यक्रम कलाकारहरूका लागि एक उत्सव नै हुन्थ्यो । तर पछिल्लो पटक कलाकारहरूले गर्दै आएको हास्य कार्यक्रमहरूले गाली, गलौज र अश्लीलता बढेको भन्ने आरोप लाग्न थालेको छ । कलाकार मनोज गजुरेलले भन्नुभयो – ‘जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्र्याइएको छ । गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले प्रश्रय पाउनु दुःखद हो, त्यस्ता प्रवृत्ति रोक्नुपर्छ ।’
हास्य कलाकार रवि डंगोल सामाजिक विषयमा गरिने व्यङ्ग्यले परिवर्तनमा केही भए पनि असर पर्ने बताउनुहुन्छ । डंगोलले हास्यव्यङ्ग्य नैतिक दबाब दिने गतिलो माध्यम हो तर यो माध्यमलाई निकै हल्कारूपमा लिनेमा गुनासो व्यक्त गर्नुभयो ।
यसबारे डंगोल भन्नुहुन्छ, ‘तरिका हुन्छ हसाउने पनि । सभ्य र पाच्य तरिकाले गरेको व्यङ्ग्यले कोहीमाथि असर पर्नु त राम्रो हो । हास्य व्यङ्ग्यको मुख्य उद्देश्य समाज तथा राजनीति सुधारका लागि दबाब दिनु हो ।’
त्यसो त गाईजात्रा हेर्ने दर्शकको कमी पनि छ । गिरिले भन्नुभयो – ‘दर्शक नै नभएर गाईजात्रा नगर्ने कुरा भएको त होइन तर दर्शकका लागि दिने विषयहरू वर्षैभरि सिरियल र फिल्मबाट हामीले दिने गरेका छौँ, त्यसले गाईजात्राको दर्शक सङ्ख्या केही न केही घटाएको छ ।’
तपाईको प्रतिक्रिया