काठमाडौं – उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका बैंकहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्।
राष्ट्रसंघको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झण्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले पुष्टि गरेका थिए।
यस्तो खबर सार्वजनिक भएपछि नेपालमा पनि हुनसक्ने संभावित त्यस्तो हमला रोक्न विभिन्न खाले उपायहरू अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको अधिकारीहरूले बताए।
उत्तर कोरियाले नेपालको एउटा बैंकबाट पनि ठूलो रकम ह्याकिङ मार्फत् लगेको पुष्टि भइसकेकाले पनि सतर्कता अपनाउन आह्वान गरिएको अधिकारीहरू बताउँछन्।
नेपाल प्रहरीका अधिकारीहरूका अनुसार उत्तर कोरियाली ह्याकरहरूको समूहले सन् २०१७ को अक्टोबरमा नेपालको एउटा बैंकबाट रकम चोरी गरेका थिए। त्यसबेला ४६ करोड रुपैयाँभन्दा बढी चोरिएको भए पनि ह्याकरहरूले ४ करोड रुपैयाँ बराबर मात्र लिन पाएको अधिकारीहरू बताउँछन्।
प्रहरीको साइबर ब्यूरोले नेपालमा हुनसक्ने सबैखाले साइबर हमलालाई उच्च सतर्कताका साथ हेरिरहेको बताएको छ। नेपालमा एकपटक घटना भइसकेकाले फेरि त्यस्तै घटना हुनसक्ने संभावना रहने भएकाले वित्तीय संस्थाहरू संवेदनशील हुनुपर्ने र नियमित प्राविधिक जाच गराउनुपर्ने अधिकारीहरूको सुझाव छ। ***