काठमाडौं – विगतमा काठमाडौंमा केन्द्रित हुंदै आएको गाईजात्रा विशेष कार्यक्रम यो बर्ष उपत्यका बाहिर बिभिन्न प्रदेशमा आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिले सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा नाम दिइएको कार्यक्रम १० दिनको हुने छ ।
कार्यक्रम प्रदेश नम्बर १ को बिराटनगरमा यही श्रावण ३१ गतेबाट शुरु भएर धनगढी हुंदै काठमाडौंमा अन्त्य हुने छ ।
कार्यक्रममा प्रख्यात हास्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतको प्रस्तुती रहने छ ।
कार्यक्रमको बारेमा मनोज गजुरेल भन्छन्, ‘गाईजात्रा सिंगो देशको पर्व हो त्यसैले यसलाई देशैभरी लैजाने प्रयास गरिएको हो । बिकृती र बिसंगती जताजता हुन्छ, हास्यब्यङ्ग्य त्यता त्यता जान्छ । हास्न पाउनु सबै नेपालीको अधिकार हो । अतः हामी गाईजात्रा देशभरी गर्दैछौं ।’
त्यसैगरी चर्चित हास्यकवि शैलेन्द्र सिंखडाले ब्यंग्यात्मक शैलीमा भने,
‘राजनीतिले बांडेको छ, सातप्रदेशमा यो देश, सँस्कृतिले जोडेको छ हिमाल, पहाड, मधेश
विकास जान ढीला भयो सिमेन्ट, पाइप, डण्डी, अलकत्रा, सँस्कृतिले पाइला सार्यो प्रदेश प्रदेशमा गाईजात्रा’
ब्राण्डवर्थ प्रा. लि. ले आयोजना गर्ने यस कार्यक्रमको अनलाईन पार्टनर गजुरेल डट कम रहेको छ । यस्तै, जेसिस र लायन्स क्षेत्रीय आयोजक रहेका छन् । त्यसैगरी सिमरामा होटेल तथा पर्यटन व्यवसायी संघ, सिमरा, र सिमरा फाउण्डेशन सहआयोजक रहेका छन् । कार्यक्रमको मुख्य प्रायोजक सिग्नेचर हृवीस्की रहेको छ । यस्तै, बाबागोल्ड सनलावर तेल एवम् जेजे ज्वेलर्स सह-प्रायोजक रहेको छ ।
कार्यक्रमबाट मुलुकभरका हजारौं दर्शकले प्रत्यक्ष रुपमा मनोरञ्जन प्राप्त गर्ने अपेक्षा रहेको आयोजक ब्राण्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए ।***