सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – जापानको जनसंख्या १२ करोड ४८ लाखमा झरेको यहाँको सरकारी तथ्याङ्कले जनाएको छ । पछिल्लो सरकारी तथ्याङ्कका अनुसार यस वर्षको जनवरी १ सम्मको जनसंख्या विदेशी बाहेक १२ करोड ४८ लाख रहेको सम्बन्धित मन्त्रालयले गत बुधबार सार्बजनिक गरेको हो ।

सन् १९६८ देखि जनसंख्याको आवधिक गणना गर्न थालिएदेखि यो सबैभन्दा घट्दो दरको जनसंख्या हो । जापानी नागरिकहरुमा विवाहप्रतिको उदेकलाग्दो उदासिनता र सन्तान जन्माउने मामिलामा चरम अरुचीका कारण जनसंख्या घट्दो क्रममा रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । तथ्याङ्कका अनुसार जापानमा अघिल्लो वर्षभन्दा यो पछिल्लो वर्ष १ लाख ६९ हजार १ सय ९९ बढेर विदेशीहरुको संख्या २६ लाख ६७ हजार १ सय ९९ पुगेको छ । जापानका ४७ वटै प्रिफेक्चरमा विदेशीहरु संख्या बढ्दो क्रममा रहेको जनाईएको छ । कामदार अभावलाई आपूर्ती गर्न विदेशी भित्र्याउने सरकारी नीति अनुसार कम्पनीहरुमा विदेशीहरुको संख्या बढ्दो क्रममा रहेको पाईएको छ ।
तथ्याङ्कका अनुसार अघिल्लो वर्षभन्दा जापानमा ९ लाख २१ हजार जन्मदर कम पाईएको छ भने मृत्यु हुनेको संख्या १३ लाख ६३ हजार ५ सय ६४ पुगेको छ । घट्दो जन्मदर र बढ्दो मृत्यूदरको यो क्रम विगत ६ वर्षदेखि लगातार चलिरहेको बताईएको छ ।

जापानको कुल जनसंख्याको २८ दशमलव ०६ प्रतिशत ६५ वर्ष वा सो भन्दा माथिको रहेको छ । यो ० दशमलव ४० प्रतिशतका दरले बढ्दो क्रममा रहेको छ भने काम गर्न सक्ने उमेर समुह १५ वर्षदेखि ६४ वर्षको जनसंख्या जापानमा ५९ दशमलव ४९ प्रतिशत रहेको जनाईएको छ । यो ० दशमलव २८ प्रतिशतले घट्दो क्रममा रहेको छ ।

जापानका ४७ प्रिफेक्चर मध्य ४२ प्रिफेक्चरमा जनसंख्याको अस्वभाविकरुपले घट्दो दर पाईएको र होक्काइडोमा सबैभन्दा घट्दो पाईएको छ । अघिल्लो वर्ष मात्रै होक्काइडोमा ३९ हजार ४ सय ६१ जनसंख्या घटेको तथ्याङ्कमा उल्लेख छ । राजधानी टोकियो, आइची, कान्साइ र ओकिनावामा भने जनसंख्या दर बढ्दो क्रममा रहेको पाइएको छ ।

विदेशीहरु समेत गरेर जापानमा १२ करोड ७४ लाख ४३ हजार ५ सय ६३ रहेको जनाईएको छ । यो अघिल्लो तथ्याङ्क भन्दा २ लाख ६३ हजार ६ सय ९६ ले कमी हो ।

यसैबीच जापान सरकार सामु अब विदेशीहरुका लागि पहिलेभन्दा थप सहज र मैत्रीपूर्ण बसाइ बनाउन आवश्यक पहल गरिनुपर्ने चुनौती थपिएको विश्लेषकहरु बताउँछन् ।

अघिल्लो महिना गरिएको एक सरकारी सर्वेक्षणका अनुसार ९० प्रतिशत विदेशीहरुले जापानको बसाई सहज बनाउन कोठा भाडामा लिने बेलाको झन्झटिलो प्रक्रिया, भाडामा सुलभ दर लगायतका पब्लिक सपोर्टको आवश्यकता रहेको बताएका छन् भने ४४ प्रतिशतले अस्पतालमा अंग्रेजी भाषा वा मातृभाषाको सुविधा बढाईनुपर्ने धारणा राखेका छन् । ३ सय ७५ जना विदेशीहरुबीच फरक फरक प्रश्नावलीको आधारमा गरिएको सर्वेक्षणमा उक्त धारणाहरु आएका हुन् ।

जापानमा वर्षेनी घट्दो जनसंख्या त्यसमाथि बढ्दो बूढ्यौली जनसंख्या, पहिलेको तुलनामा युवा पुस्तामा देखिएको काम र जिम्मेवारीप्रतिको ह्रास लगायतका कारण कामदार अभावको समस्या जापानमा निकै पेचिलो बन्दै गईरहेको छ । अर्कोतिर विदेशीहरुका लागि नयाँ नयाँ नियम कानून, झन्झटिला भिसा प्रक्रिया, जापान बसाईमा भोग्नुपर्ने भाषा लगायतका अनेकन समस्याका थपिदों चाङका कारण जापान बसाई विदेशीहरुका लागि अझ विकराल बन्न सक्ने संकेतहरु देखिएका छन् । तसर्थ जो कोही नेपाली जापान आउनुपूर्व कम्तीमा पनि जापानबारेमा सुक्ष्मरुपले अध्ययन गर्नुका साथै जापानी भाषामा न्युनतम दखल राख्न सक्ने भएर आउँदा धेरै सहज हुने जानिफकारहरु बताउँछन् । नत्र भाषाकै कारण दिनमै सय पटक पुर्पुरो समाउन पर्ने स्थिति आउन सक्ने भुक्तभोगीहरुको अनुभव छ । ***

तपाईको प्रतिक्रिया