सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

नागोया – यतिबेला प्रत्येक देशका क्षेत्र हुँदै एनआरएनए राष्ट्रिय अधिवेशन सम्पन्न गरी अन्तर्राष्ट्रिय अधिवेशन दशैंमा काठमाडौंमा गर्नका लागि चटारो सुरु भएको छ । अधिवेशन पूर्व सन्ध्यामा उमेदवारहरु आफ्नो प्रचार-प्रसारमा लागिसकेका छन् । एशिया प्यासिफिक संयोजकका लागि भने जापानवाटै ३ जनाको प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

एनआरएनए आईसीसी अध्यक्षमा भवन भट्टले पुनः कार्यकाल दोहोरयाउन चाहेको चर्चा चलिरहँदा नागोयाका व्यवसायी गोविन्द्र श्रेष्ठले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले एशिया प्यासिफिकको संयोजकमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । यसअघिको सोही पदमा पराजित श्रेष्ठले त्यस बेला झिनो मतले हारे पनि आफू एनआरएनको हरेक गतिविधिमा सरिक भएको बताउँदै यसपाली अत्यधिक मतले विजयी हुने दावी गर्नुभएको छ ।

यस्तै एशिया प्यासिफिकको संयोजकमा उम्मेदवारी दिने नागोयाकै हालका एशिया प्यासिफिकका उपसंयोजक पारसमणि पोखरेलले बताउनुभएको छ । ‘म एनआरएन जापानको पूर्व अध्यक्ष र हाल एशिया प्यासिफिकको उपसंयोजकमा निरन्तर लागि रहेको छु’ – उहाँले भन्नुभयो- ‘एनआरएनए जापानमा २००४ बाट निरन्तर यो अभियानमा संलग्न छु र यसपटक एसिया प्यासिफिकको संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’ आफूलाई दिएको जिम्मेवारी इमान्दारीता पूर्वक निर्वाह गरेकोले यस पटक पनि सबैबाट साथ र सहयोग पाउने उहांको दावी छ ।

सोही पदमा एनआरएनए जापानका पूर्व अध्यक्ष एवं आईसीसी सदस्य ओम गुरुङको समेत चर्चा छ । उपयुक्त समयमा आफ्नो उम्मेदवारी घोषणा गर्ने मनोस्थितिमा गुरुङ रहेको बताइन्छ ।

नायोगा क्षेत्रिय समितिको अधिवेशन जुलाई २७ मा
एनआरएनए जापानको क्षेत्रिय समिति नागोयाले आफ्नो अधिवेशनको मिति तोकेको छ । नागोया क्षेत्रिय समितिको बैठकले आगामी अधिवेशन जुलाई २७ तारिख शनिबारका लागि तोकेको हो ।

यसअघि अधिवेशन भएकै हल नागोयाको नाकाकु १-७-२ मा अपरान्ह्र १२ बाट अधिवेशन शुरु हुने एनआरएनए नागोया क्षेत्रिय समितिका सचिव श्याम सितल बताउनुभयो । अधिवेशन सम्पन्न गर्न व्यवसायी विमल अधिकारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटि गठन गरिएको छ । उक्त कमिटीको सदस्यमा नागोयाका व्यवसायीहरु यम खत्री र सुरज काफ्ले रहनु भएको छ । नयाँ समिति सर्वसम्मत रुपमा चयन गर्ने पक्षमा आफू रहेको निर्वाचन कमिटिका संयोजक अधिकारीले बताउनुभयो ।

‘अहिलेको जस्तै क्रियाशिल समिति नयाँ नेतृत्व आए हुन्थ्यो भन्ने नागोयावासी चाहाना छ’  – एनआरएनए नागोयाका पूर्वसचिव प्रकाश गौडेलले भन्नुभयो- ‘नेपालीको लागि नेपाली भन्ने मूल नारालाई आत्मासाथ गर्दै यस क्षेत्रमा कुनै पनि नेपालीलाई समस्या पर्दा एनआरएनए पुग्ने गरेको जुन सह्रानीय  छ ।’

हालै मात्र नागोयामा पहिलो पटक सफलतापूर्वक सम्पन्न नेपाल फेस्टिवलका कारण पनि एनआरएनएलाई सकारात्मकरुपमा हेर्ने दृष्टिकोण रहेको पाइन्छ । सेनमोन गाक्को, होइकु काइगो बिजिनेस नागोयामा कार्यरत किरण तिवारी तथा नागोयाकै चुवु युनिभर्सिटीमा कार्यरत डा. सुदिप अधिकारीको तर्क एउटै छ- ‘हाम्रालाई होइन, राम्रालाई अवसर दिनुपर्छ ।’ यसै तर्कसंग सहमत हुँदै जो कोही पनि नेतृतमा आउनु अघि आफूले कति समय दिन सक्छु भन्ने हेक्का हुनुपर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका पूर्वअध्यक्ष एवं एनआरएनए नागोयाका पूर्व संयोजक विष्णुप्रसाद घिमिरेको तर्क छ ।

टोयोटामा बस्दै आउनुभएकी राधा थापाका अनुसार एनआरएनए नागोयाले धेरै सकारात्मक कार्यहरु गरेको छ । अब बन्ने समितिमा सामाजिक मन भएकाहरु आउनुपर्छ । अझै महिलाहरुलाई समेत समेटेर अगाडि बढ्ने हो भने सुनमा सुगन्ध जस्तै हुने उहांको धारणा छ ।

नागोया क्षेत्रिय अधिवेशनलाई जापानवासी नेपालीले चासोका साथ हेर्ने गरेका छन् । १ लाखको हाराहारीमा नेपाली बस्दै आएको जापानमा १४ वटा क्षेत्रिय समिति रहेका छन् । नागोयाबाट एनआरएनए जापानको केन्द्रमा विभिन्न समयमा पारसमणि पोखरेल अध्यक्ष, डिलाराम खरेल उपाध्यक्ष, डा. सुदिप अधिकारी महासचिव, सरोज कँडेल सचिव, सन्देश पोखरेल प्रवक्ता, कार्यसमितिमा चिरंजीवी सिग्देल, केशर गिरी, एशिया प्यासिफिक उपसंयोजकमा गोविन्द्र श्रेष्ठ लगायत रहेको इतिहास छ ।

त्यसबाहेक हाल नागोयाबाट एनआरएनए आईसीसी सदस्यमा डिलाराम खरेल र केशर गिरी रहनुभएको छ भने एशिया प्यासिफिक उपसंयोजकमा पारसमणि पोखरेल तथा एनआरएन जापानको केन्द्रिय समिति सदस्यमा राजकुमार अधिकारी रहनुभएको छ ।

नागोयाको क्षेत्रिय संयोजकमा भने अहिलेसम्म ३ जनाले इच्छा जनाएका छन् । क्षेत्रिय समितिका वर्तमान सचिव श्याम सितलले सबैको विश्वास पाए आफू संयोजक भएर काम गर्न चाहेको बताउनुभयो । यस्तै एनआरएनए जापानका वर्तमान कार्यसमिति सदस्य समेत रहेका राजकुमार अधिकारी सहमतिमा आफू यस क्षेत्रको अध्यक्ष बन्न चाहेको बताउनुहुन्छ । यस्तै यसै क्षेत्रका पूर्वउपाध्यक्ष अर्जुन केसीले पनि संयोजकको लागी उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यसअघि नागोया क्षेत्रिय समितिको उपाध्यक्ष भईसक्नु भएका केसी अर्लाङकोट समाज जापानका अध्यक्ष समेत हुनुहुन्थ्यो । केसीका अनुसार आफू नागोया क्षेत्रिय समितिको सदस्य हुँदै उपाध्यक्ष भएको र गत अधिवेशनमा आफूले सहमतिका लागि उम्मेदवारी नदिएको स्मरण गर्दै यसपाली सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नागोया क्षेत्रिय समितिका वर्तमान संयोजक दिपक कार्कीको भने एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा छ । ***

तपाईको प्रतिक्रिया