सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – जापान आउने विदेशी पर्यटकहरुलाई ट्राभल इन्स्युरेन्स (पर्यटक वीमा) गर्न प्रोत्साहित गर्ने हेतुले विशेष क्याम्पेन सुरु गरिएको छ ।

जापान आउने विदेशी पर्यटकहरु आकस्मिक बिरामी हुँदा उपचार गराएको अस्पतालको बिल भुक्तानी नगरी फर्कनेहरुको संख्या अत्याधिक रहने गरेको पाईएको र उक्त बाँकी बिलको धनराशी ठूलो रहेको भन्दै जापानका अस्पतालहरुले सरकारको ध्यानाकर्षण गराउँदै आईरहेका छन् ।

जसअनुसार जापान सरकारले जापान आउने विदेशी पर्यटकहरुलाई ट्राभल इन्स्युरेन्सका लागि प्रोत्साहित गर्न क्याम्पेन सुरु गरेको हो ।

सरकारी अधिकारीहरुका अनुसार ट्राभल इन्स्युरेन्स नगरेका विदेशी पर्यटक जापान बसाई अवधिभर दुर्घटनामा परी घाईते भएमा वा अन्य विरामी भएमा लाग्ने उपचार खर्च पुरै स्वयमले ब्यहोर्नुपर्ने हुन्छ । यसरी ट्राभल इन्स्युरेन्स नगर्ने विदेशी पर्यटकहरुको संख्या अझै पनि ३० प्रतिशत रहेको बताईन्छ । जापानमा औषधोपचार खर्च विश्वकै महंगो मध्यको एक मानिन्छ त्यसैले पनि पर्यटकहरु मर्कामा नपरुन् भन्ने उद्देश्यले ट्राभल इन्स्युरेन्स गर्न जापान सरकारले जापानभरिकै अन्तर्राष्ट्रिय विमानस्थल, होटल, अन्य सरकोकारवाला निकाय लगायतका सबै ठाउँमा विभिन्न भाषामा लेखिएका जानकारीमुलक सामग्री उलब्ध गराईएको छ भने पर्यटन सूचना केन्द्रहरुमा परामर्श सेवा उपलब्ध गराईएको छ । पर्यटकहरु जापान टेक्दासाथ आफ्नो स्मार्टफोन वा अन्य कुनै डिभाइस प्रयोग गरी तुरुन्तै ट्राभल इन्स्युरेन्स लिन सकिने ब्यवस्था पनि रहेको अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको एक सर्वेक्षणका अनुसार करीव २० प्रतिशत अस्पतालहरुमा पर्यटकहरुको उपचार खर्चको बिल भुक्तानी बाँकी रहेको जनाईएको छ । त्यस्तो बिल भुक्तानी बाँकी रहेका ती अस्पताल मध्यको एक अस्पतालको मात्रै करीव १ करोड (एक हजार मान) येन विदेशी पर्यटकहरुको बक्यौता बिल रहेको बताईएको छ । गएको वर्ष सन् २०१८ मा करीव २७ प्रतिशत पर्यटकले बिना ट्राभल इन्स्युरेन्स जापान भ्रमण गरेको पाईएको छ । सर्वेक्षणका अनुसार अत्याधिक विदेशी पर्यटकहरुले ट्राभल इन्स्युरेन्स लिन नचाहनुको कारण उनीहरुको विचारमा छोटो बसाईमा यो त्यति आवश्यक नरहेको बुझाई रहेको पाईएको छ भने अर्कोथरिको भने बेवास्तापन नै रहेको बुझिएको छ ।

विदेशी पर्यटकहरुलाई ट्राभल इन्स्युरेन्स लिन प्रोत्साहित गर्न जापान सरकारले समय समयमा विभिन्न खालका आकर्षक क्यान्पेन तथा नीति अवलम्बन गर्दै आएको भएता पनि अपेक्षित सफलता हात पार्न नसकेको यहाँका पर्यटन एजेन्सीहरुले बताउँदै आएका छन् ।***

तपाईको प्रतिक्रिया