आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टाेकियाे – नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट-वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो ।

प्रक्षेपण गर्नुअघि अमेरिकी अन्तरिक्ष यात्री मिक हेगको नेतृत्वको ६ सदस्यीय अन्तरिक्ष यात्रीको टोलीले नेपाललाई के गरौं ? भनेर सोधेको प्रश्नमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेपछि उक्त अन्तरिक्ष टोलीले ‘नेपालीस्याट-वान’ अन्तरीक्षमा छोडिएको थियो ।जापानमा रहेका मन्त्री पोखरेलले चुकुबा स्पेस सेन्टरमा आयोजित प्रत्यक्ष अवलोकन कार्यक्रममा सहभागिता जनाएका थिए । साथै उक्त कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ, दूतावासका उप नियोग प्रमुख कृष्णचन्द्र अर्याल, जापानका शिक्षा, संस्कृति, खेलकूद, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च अधिकारी, श्रीलंका र सिंगापुरका प्रतिनिधि तथा कार्यक्रम आयोजना गर्ने संस्था जाक्साको भाईस प्रेसिडेन्ट, क्यूटेकका अध्यक्षलगायतको सहभागिता रहेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ ।सो अवसरमा मन्त्री पोखरेलले जापानको क्युटेक र सो परियोजनामा कार्यरत जापानका सम्पूर्णलगायत नेपालका आभाष मास्के र हरिराम श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । मन्त्री पोखरेलले भने, ‘नेपालको झण्डा र नाष्टको लोगो अङ्कित सो भूउपग्रहले नेपालको गरिमा बढाउँदै अघि बढेकोे छ ।’

नेपालीसहित जापान र श्रीलंकको पनि नानो भूउपग्रह अन्तरिक्षमा छाडिएको छ । नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको टोलीले निर्माण गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रविधिक हरिराम श्रेष्ठ पनि यो परियोजनामा संलग्न छन् ।बैशाख ५ मा अमेरिकाको भर्जिनिया, वल्लोप्स द्विपस्थित नासाको अर्बिटल एटिके प्रक्षेपण केन्द्रबाट नेपालस्याट-वान अन्तरीक्षमा पठाइएको थियो । १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह १ किलो ३३० ग्रामको छ । नेपाल वान भूउपग्रह पृथ्वीकाे सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ । प्रत्येक ९० मिनेटमा पृथ्वीकाे एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीकाे परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ ।

तपाईको प्रतिक्रिया