सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्चशिक्षाको लक्ष अब परिवर्तन हुनुपर्ने बताउनुभयो । नेपालको विद्यमान शिक्षा प्रणालीबाट केवल डिग्री हासिल गर्ने काम मात्र भएकोले परिवर्तित सन्दर्भमा अब उच्चशिक्षाको लक्ष परिवर्तन गरिनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा क्षेत्र असल नागरिक उत्पादन गर्ने ज्यादै संवेदनशील र महत्वपूर्ण क्षेत्र भएकोले आफ्नो माटो र देश चिनेर राष्ट्रप्रति वफादार र जिम्मेवारी निर्बाह गर्ने सक्षम जनशक्ति तयार गर्ने दिशामा अबको उच्चशिक्षाको लक्ष हुनुपर्ने मन्त्री पोखरेलको धारणा थियो ।
जापान सरकारको निमन्त्रणामा एक कार्यक्रममा भाग लिन जापान आएका मन्त्री पोखरेलले टोकियोमा आयोजित एक समारोहमा बोल्दै वर्तमान सरकारले विकासको छलाङ्लाई नेतृत्व गर्ने जनशक्ति उत्पादन हुने प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो ।
मन्त्री पोखरेलको स्वागतमा नेपाली राजदूतावास टोकियोले आईतवार साँझ आयोजना गरेको रात्रीभोजसहितको एक समारोहमा बोल्दै उहाँले देश बिकासको मेरुदण्ड अर्थात पहिलो सर्तकारुपमा शिक्षा भएकोले देशभित्रै आवश्यक गुणस्तरिय जनशक्ति उत्पादनमा शिक्षाप्रणालीमा सुधार्न नयाँ ढंगले सोचिएको बताउनुभयो ।

मन्त्री पोखरेलले हाल नेपालको ५० जिल्ला अर्थात साक्षरता प्रतिशत ८२ रहेको तथ्य अगाडि सार्दै अबको एक दशकमा शतप्रतिशत पुर्‍याई विद्यालय नजाने बालबालिकाको संख्या शुन्यमा झार्ने सरकारको लक्ष रहेको बताउनुभयो । यसैबीचमा सामुदायिक विद्यालय र निजी विद्यालय बीचको शैक्षिक गुणस्तरको अन्तरमा पनि समानतामा ल्याईने विचार ब्यक्त गर्नुभयो । विद्यमान शिक्षा प्रणालीमा ८० प्रतिशत साधारण शिक्षा र २० प्रतिशत प्राविधिक शिक्षा प्रदान भईरहेको अवस्थालाई स्तरोन्नती गरी प्राविधिक शिक्षालाई जोड दिई सीपयुक्त जनशक्ति तयार गरिने मन्त्री पोखरेलको भनाई थियो ।

माद्यामिक शिक्षादेखि नै प्राविधिक शिक्षामार्फत कुनै एक बिषयमा सीप सिकाई १२ कक्षा उतीर्ण गर्दा एक सीपयुक्त जनशक्ति तयार भईसक्ने गरी शिक्षा प्रणाली र सो बमोजिमको ऐन ल्याईने मन्त्री पोखरेलले बताउनुभयो । विश्वविद्यालयहरुलाई ब्यवस्थित गरिने, मदन भण्डारी प्राविधिक विश्वविद्यालय खोलिने, आयुर्वेद शिक्षा, योग शिक्षा, जडिबुटी शिक्षा जस्ता नेपालका लागि आवश्यकीय नयाँ नयाँ बिषयमा उच्चशिक्षा प्रदान गरिने सरकारको योजना रहेको पनि मन्त्री पोखरेलले जानकारी गराउनुभयो ।

नेपालको विद्यमान शिक्षा प्रणालीमा रहेका कमीकमजोरी र सरकारले लिएको अबको शैक्षिक नीतिका सम्बन्धमा अधिकाँश समय खर्चेका मन्त्री पोखरेलले समृद्ध मुलुक निर्माणका लागि शिक्षानै मुल आधार भएकोले त्यसका लागि आफु प्रतिबद्ध भएर लागिपरेको बताउनुभएको थियो ।

मन्त्री पोखरेलले राजनैतिक बिषयमा भने प्रवेश नै नगरी आफ्ना भनाई टुंग्याउनुभएको थियो । दलका नेताहरु बोल्दा एकअर्का दलप्रति दोषारोपण र कटाक्षमा समय खर्चिने सँस्कारलाई भने मन्त्री पोखरेलले ’ब्रेक थ्रु’ नै गरेको प्रतिक्रिया सहभागीहरुको थियो ।

समारोहको प्रारम्भमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले मन्त्री पोखरेलको स्वागत गर्दै आफु राजदूत भएर जापान आएदेखि भए-गरेका कार्यप्रगति बारे जानकारी गराउनुभएको थियो । राजदूत राणाले जापानमा १० हजार नेपाली हुँदा पनि राजदूतावासमा ३ जना डिप्लोम्याट कर्मचारी रहेको र हाल ९० हजार हुँदा पनि सोही दरबन्दी अनुसार कार्यसम्पादन गर्नुपरेकोले असुविधा भएको भन्दै मन्त्री पोखरेलमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले नेपालका लागि जापान जस्तो महत्वपूर्ण मुलुकमा राजदूतावासको आफ्नै भवन हुनुपर्नेमा जोड दिदैं त्यसका लागि पनि मन्त्री पोखरेल मार्फत नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउनुभयो ।

जापानका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, विद्यार्थी, प्राज्ञिक वर्ग, पत्रकार तथा एनआरएन अभियान्ताहरुको उपस्थिति रहेको सो समारोहमा बोल्दै एनआरएन अध्यक्ष भवन भट्टले नेपाल सरकारसंग सहकार्य गरी एनआरएनले शिक्षाको क्षेत्रमा थुप्रै कार्यक्रमहरु ल्याएको बताउनुभयो । समारोहमा मन्त्री पोखरलेकै भ्रमणदलका सदस्य एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, जर्मनीबाट आउनुभएका एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतको पनि विशेष उपस्थिति रहेको थियो ।

सो अवसरमा नेपाली राजदूताबास र जापानमा रहेका प्राविधिकहरुको सहकार्यमा चरणबद्धरुपमा चौथो पटकसम्म हुँदै आएको ‘डायलग सिरिज’ हरुको अन्तरवस्तुको निचोड डा. कुमार बस्नेत, डा. लक्ष्मी पराजुली लगायतले नेपाल सरकार समक्ष पुर्‍याउन मन्त्री पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो ।

समारोहको अन्तमा, दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले धन्यवाद मन्तब्य राख्नुभएको थियो भने दूतावासका द्वितीय सचिव टोपनारायण गिरीले सहजीकरण गर्नुभएको थियो ।***

तपाईको प्रतिक्रिया