काठमाडाैं – अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक गतिविधि जनाउने आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा आर्थिक गतिविधिको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले चालू आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको बताए । यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने आर्थिक सर्वेक्षणमा जनाइएको छ ।
राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा सुधार आएको, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेकोले अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको मन्त्री खतिवडाको भनाइ थियो । यस्तै, निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको मन्त्री खतिवडाले बताए । यसअघि, यस्तो गरिबीको रेखामुनि रहेको संख्या २१.६ प्रतिशत रहेको थियो ।
वैदेशिक रोजगारीमा जानेको संख्यामा ३५.९ प्रतिशतले घटे पनि रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेर ५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको मन्त्री खतिवडाले बताए । यो वर्ष मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित हुने जनाइएको छ भने सार्वजनिक ऋण ९ खर्ब पुगेको छ । आन्तरिक बचतले २० प्रतिशत विन्दु नाघेको छ भने फागुन मसान्तसम्ममा शोधानान्तर स्थीति ५९ अर्ब घाटामा रहेको उनले बताए ।
समीक्षा अवधिमा चालू खाता एक खर्ब ९१ अर्बले घाटामा रहेका कारण विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ पुग्दा पनि भुक्तानी सन्तुलनमा केही चाप परेको मन्त्री खतिवडाले बताए । उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको छ । यसबाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सन्चितिमासमेत चाप परेको उनले बताए ।
आर्थिक सर्वेक्षण २०७५/७६ को पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहाेस्